बजेट विमर्श
यस्तो छ सुदूरपश्चिम प्रदेशका लागि बजेट

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन् ।
बजेट कार्यक्रममा निजी तथा पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइने उल्लेख छ ।
पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तोरन्नति गरिने बजेटमा भनिएको छ ।
पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको लागि रु २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरुपश्चिम प्रदेशका मध्ये तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीको खेती प्रवर्द्धन गर्न रु ८३ करोड बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षभित्र लगत सङ्कलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलव्ध गराइने छ । पर्यटन प्रवर्द्धन गर्न प्रदेशको शुक्लाफाटा, खप्तड रामारोशन, बुढीनन्दामा पदामर्ग विकास गरिने अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा छ ।
डडेल्धुराको अजयमेरु विमानस्थलको विस्तृत प्रतिवेदन तयार गर्न बजेट विनियोजन गरिएको छ । कैलालीको गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने छ ।
डडेल्धुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजको पूर्वाधार निर्माणको कार्य अगाडि बढाइने छ । कैलाली कञ्चनपुरलगायत जिल्लामा बसोवास रहेको थारु समुदायका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम प्रविधि अवलम्बन गरिने छ ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियम निर्माणको कार्य अगाडि बढाइने भएको छ । दोधारा–बरेली ४००केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अगाडि बढाइने भएको छ । चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने भएको छ । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्री गरी प्राप्त हुने रकम नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिने बजेट कार्यक्रममा उल्लेख छ । रानी जमरा कुलरिया आयोजना र महाकाली सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने छन् ।
कञ्चनपुर कैलालीलगायत जिल्लामा निर्माणाधीन रहेको हुलाकी राजमार्गको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने छ । पूर्वपश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम जोडने मोहनापुल–अत्तरिया सडकमा व्यापारिक मार्गको निर्माण कार्य सम्पन्न गरिने छ । डडेल्धुराको रुपालसम्मको बस्ती र बजारलाई जोडन मदन भण्डारी राजमार्ग निर्माणका लागि रु दुई अर्ब ५१ करोड बजेट विनियोजन गरिएको छ । अत्तरिया–खोडपे–दार्चुला सडकखण्डको विस्तृत अध्ययन सम्पन्न गरी ‘डिडिकेटेड डवल लेन’ मा स्तरोन्नति सुरु गरिने छ ।
महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी सडकखण्डको स्तरोन्नति गर्न र तुसारपानी–टिंकर सडकखण्डको ट्रयाक खोल्न आवश्यक बजेट विनियोजन गरिएको छ । रणनीतिक तथा व्यापारिक महत्वका खुटिया–दिपायल लगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस