इरानसँग व्यापार गरेबापत ट्रम्प सरकारद्वारा ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध
इरानले व्यापारबाट आर्जन गरिएको राजस्वलाई मध्यपूर्वमा अस्थिरता बढाउन र आतंकवादलाई सहयोग गर्न प्रयोग गरेको दाबी गरेको छ।

अमेरिकी ट्रम्प प्रशासनले इरानसँग पेट्रोलियम पदार्थको कारोबारमा संलग्न भएको आरोपमा ६ भारतीय कम्पनीसहित विश्वका २० कम्पनीमाथि प्रतिबन्ध लगाएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यी कम्पनीहरूले इरानी पेट्रोलियम, पेट्रोलियमजन्य उत्पादन तथा पेट्रोकेमिकलको खरिद–बिक्री, ढुवानी वा बजार विस्तारमा संलग्न भई कार्यकारी आदेश १३८४६ को उल्लङ्घन गरेका छन् । मन्त्रालयले इरानले यस्ता व्यापारबाट आर्जन गरिएको राजस्वलाई मध्यपूर्वमा अस्थिरता बढाउन र आतंकवादलाई सहयोग गर्न प्रयोग गरेको दाबी गरेको छ।
"इरानी शासनले विदेशमा आतंकवादको समर्थन गर्न तथा आफ्नै जनतालाई दमन गर्न व्यापारबाट आर्जित आम्दानी प्रयोग गरिरहेको छ। त्यसको विरुद्धमा अमेरिका कारबाही गरिरहेको हो," अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रतिबन्धमा परेका भारतीय कम्पनीहरू
१. अलकेमिकल सोल्यूसन्स प्रा. लि.
सबैभन्दा ठूलो कारोबारमा संलग्न मानिएको यो कम्पनीले जनवरीदेखि डिसेम्बर २०२४ को अवधिमा विभिन्न कम्पनीमार्फत ८४ मिलियन डलरभन्दा बढी मूल्यका इरानी पेट्रोकेमिकल उत्पादन आयात गरेको आरोप छ।
२. ग्लोबल इन्डस्ट्रियल केमिकल्स लि.
यो कम्पनीले जुलाई २०२४ देखि जनवरी २०२५ को अवधिमा मिथानोलसहित ५१ मिलियन डलरभन्दा बढीका इरानी उत्पादन आयात गरेको बताइएको छ।
३. जुपिटर डाई केम प्रा. लि.
भारतमा आधारित यो कम्पनीले जनवरी २०२४ देखि जनवरी २०२५ भित्र टोल्युइनलगायतका इरानी पेट्रोकेमिकलहरू ४९ मिलियन डलरभन्दा बढी मूल्यमा आयात गरेको आरोप छ।
४. रमणिकलाल एस. गोसालिया एण्ड कम्पनी
यस कम्पनीले मिथानोल र टोल्युइनसमेतका २२ मिलियन डलरभन्दा बढीका इरानी उत्पादन आयात गरेको अमेरिकी दाबी छ।
५. पर्सिस्टेन्ट पेट्रोकेम प्रा. लि.
यो कम्पनीले अक्टोबरदेखि डिसेम्बर २०२४ को अवधिमा युएईस्थित बाब अल बर्शा ट्रेडिङ कम्पनीलगायतबाट १४ मिलियन डलर मूल्यका इरानी मिथानोल लगायतका पदार्थ आयात गरेको आरोप छ।
६. कञ्चन पोलिमर
तनाईस ट्रेडिङमार्फत पोलिथिनसहित १३ लाख डलरभन्दा बढी मूल्यका इरानी पेट्रोकेमिकल उत्पादन खरिद गरेको आरोप छ।
यी सबै कम्पनीहरूलाई कार्यकारी आदेश १३८४६ को धारा ३(ए)(iii) अन्तर्गत ‘इरानसँगको महत्त्वपूर्ण कारोवारमा जानीजानी संलग्न’ भएको आधारमा प्रतिबन्ध लगाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस