सिरियामा असद शासन पतनपछि पनि हिंसा उस्तै, आठ महिनामा करिब १० हजारको मृत्यु

सिरियामा राष्ट्रपति बसर अल असदको २४ वर्ष लामो शासन २०२४ डिसेम्बर ८ मा भएको कू पछि अन्त्य भएको थियो। त्यतिबेला धेरैले देशमा जवाफदेही र पारदर्शी शासन स्थापना हुने आशा गरेका थिए। तर सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सको पछिल्लो प्रतिवेदनले यो आशा निराशामा परिणत भएको देखाएको छ।
प्रतिवेदन अनुसार, ८ डिसेम्बर २०२४ देखि ६ अगस्ट २०२५ सम्म अर्थात् शासन पतनपश्चात् आठ महिनामा सिरियामा ९,८८९ जनाको मृत्यु भएको छ। यीमध्ये ७,४४९ जना सर्वसाधारण नागरिक छन्, जसमा ३९६ बालबालिका र ५४१ महिलासमेत छन्। मृत्युका कारणहरूमा निरन्तरको हिंसा, स्वदेशी तथा विदेशी सेनाद्वारा गरिएका अत्याचार, र व्यापक सुरक्षा अराजकता प्रमुख हुन्।
अध्ययनले देखाएको छ कि धेरै घटनामा जिम्मेवारी कसैमाथि तोकिँदैन। आरोपितलाई संरक्षण दिने, सत्यलाई दबाउने वा विकृत गर्ने प्रवृत्ति सामान्यजस्तै छ। उदाहरणका लागि, तटीय क्षेत्रमा भएका हत्याकाण्डको छानबिन गर्न बनेको समितिको प्रतिवेदन वास्तविक घटनासँग नमिलेको बताइएको छ। यसका साथै, सरकार समर्थक समूहहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अत्याचारको तथ्य उजागर गर्ने संस्थालाई बदनाम गर्ने अभियान चलाइरहेका छन्।
अब्जर्भेटरीको भनाइमा, हजारौं मानिस अझै पनि मुद्दा बिना जेलमा छन्। केहीलाई शासन पतनपछि पक्राउ गरिए पनि, धेरैलाई छापा मारेर वा चेकपोस्टमा नियन्त्रणमा लिइएको हो। उनीहरू मध्ये धेरैमाथि कुनै ठोस आरोप छैन र कानुनी प्रक्रिया सुरु नभएकै अवस्थामा थुनामा राखिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस