सुडानी वायुसेनाले किन गरे आफ्नै डार्फरको न्याला विमानस्थलमा आक्रमण हवाई हमला?

सुडानको वायुसेनाले विद्रोही अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ)को नियन्त्रणमा रहेको डार्फरको न्याला विमानस्थलमा आक्रमण गरेको छ। एक दिन अघि भएको यो आक्रमणमा युएईको एक सैन्य विमान ध्वस्त भएको र करिब ४० कोलम्बियाली भाडाका सैनिक मारिएको सुडानी अधिकारीहरूले बताएका छन्।
यस हमलामा भाडामा ल्याइएका हतियार पनि नष्ट गरिएको छ। आक्रमणलाई विद्रोही र विदेशी हस्तक्षेप विरुद्धको कडा सन्देशको रूपमा व्याख्या गरिएको छ। यद्यपि युएईको विदेश मन्त्रालय र आरएसएफबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।
कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले यस घटनाको स्वतन्त्र छानबिनका लागि आदेश दिएका छन् । गत वर्ष आरएसएफले न्याला शहर कब्जा गरेको थियो भने सुडानी सरकारले आरएसएफमाथि नागरिक विमानस्थललाई सैन्य आधारमा परिणत गरेको आरोप लगाएको छ।
डार्फर क्षेत्रमा हतियार र सुनको तस्करी भएको पनि सूचनाहरु छन्। संयुक्त राष्ट्रसंघका विज्ञहरूले अप्रिलमा जारी गरेको प्रतिवेदनमा कोलम्बियाका भाडाका सैनिकहरू डार्फरमा रहेको र निजी सुरक्षा कम्पनीमार्फत आरएसएफलाई सहयोग पुर्याइएको पुष्टि गरेका छन्।
यस आक्रमणको प्रतिकार स्वरूप युएईले सुडानी विमानहरूलाई प्रतिबन्ध लगाएको छ र सुडानको उड्डयन एजेन्सीले अबुधाबीबाट सुडानी विमानलाई उडान अनुमति नदिएको आरोप लगाएको छ। यी घटनाले सुडान–युएई सम्बन्ध पहिले नै तनावपूर्ण भएको अवस्थालाई अझै जटिल बनाएको छ । सुडानी सरकारले भने आरएसएफलाई युएईबाट समर्थन प्राप्त भएको आरोप लगाउँदै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस