पुटिनले ट्रम्पलाई ३ करोड ५२ लाख रुपैयाँ नगद दिएको खुलासा
वासिङ्टनका राजनीतिक विश्लेषकहरूले यस्तो ‘भुक्तानी बैठक’ अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयतामै प्रश्न उठाउन सक्ने बताएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३ करोड ५२ लाख रुपैयाँ बराबरको नगद प्रदान गरेको खुलेको छ।
अमेरिकी विदेश सचिव मार्को रुबियोका अनुसार, अमेरिका भ्रमणपछि फर्कने क्रममा अलास्कामा विमानमा इन्धन भर्न पुटिनले ट्रम्पलाई उक्त रकम दिएका हुन्। पुटिन १५ अगस्टमा अलास्का पुगेका थिए। उनले त्यहाँ अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेटेका थिए। रातो कार्पेटसहित उनको स्वागत गरिएको थियो, तर अमेरिकी प्रतिबन्धका कारण पुटिनको टोलीले बैंकिङ प्रणाली प्रयोग गर्न नसकेपछि नगद तिर्नुपर्ने अवस्था आएको रुबियोले स्पष्ट पारे।
उनका अनुसार, रूसी विमानहरू अलास्कामा अवतरण गरेपछि इन्धन आवश्यक भयो। तर अमेरिकी बैंकमार्फत भुक्तानी गर्न अनुमति नपाएकाले नगदमै रकम बुझाइएको हो।
रुबियोले भने, रुसमाथि लगाइएका सबै प्रतिबन्ध अझै लागू छन् र त्यसको प्रभावसँग रुस दैनिक जुधिरहेको छ। तर युक्रेन युद्ध रोक्ने विषयमा भने यसले कुनै ठोस परिणाम ल्याउन सकेको छैन।
पुटिनको टोली अलास्कामा करिब पाँच घण्टा बसेको थियो। ट्रम्प र पुटिनबीच करिब तीन घण्टासम्म वार्ता भए पनि युक्रेन युद्ध अन्त्य गर्ने विषयमा ठोस सहमति हुन सकेको छैन।
अमेरिकी प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीले यो घटनाप्रति कडा आपत्ति जनाएको छ। उनीहरूले भनेका छन् यदि भेट निजी थियो भने यति ठूलो मात्रामा नगद लेनदेन हुनु गम्भीर प्रश्न खडा गर्ने कुरा हो।
वासिङ्टनका राजनीतिक विश्लेषकहरूले यस्तो ‘भुक्तानी बैठक’ अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयतामै प्रश्न उठाउन सक्ने बताएका छन्। उता, रुसका विपक्षी नेताहरूले पुटिनले उक्त रकम सरकारी कोषबाट तिरे वा निजी स्रोतबाट भन्ने प्रश्न उठाएका छन्।
यसअघि पनि ट्रम्प–पुटिन सम्बन्ध अमेरिकी राजनीतिमा विवादको विषय बनेको थियो। सन् २०१६ को चुनावदेखि रुसमाथि लगाइएका प्रतिबन्धसम्म हरेक पटक ट्रम्पमाथि ‘पुटिनसँग गोप्य व्यवहार’ गरेको आरोप लाग्दै आएको थियो। यो नयाँ खुलासाले त्यस्ता आशंकालाई अझ प्रबल बनाएको देखिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस