श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन्। बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिँदै उनी पक्राउ परेकाे जनाएको छ।
आरोपअनुसार विक्रमसिंघेले सन् २०२३ मा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र महासभाबाट फर्कँदै पत्नीसमेतसँग लन्डनमा निजी प्रयोजनका लागि रोकिने क्रममा सम्पूर्ण खर्च सरकारी कोषबाट बेहोरेका थिए।
उनीलाई शुक्रबार राजधानी कोलम्बोस्थित मजिस्ट्रेट अदालतमा पेश गरिनेछ। त्यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिइसकेका छन्।
विक्रमसिंघेले भने आरोप अस्वीकार गर्दै लन्डनमा आफूले विभिन्न बैठकहरूमा भाग लिएको दाबी गरेका छन्। सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति रहेका विक्रमसिंघे आर्थिक संकटका कारण चर्किएको जनआन्दोलनबीच सत्तामा पुगेका थिए। उनका पूर्ववर्ती गोटाबाया राजपक्षे जनआन्दोलनकै चपेटामा परेर पदत्याग गर्दै विदेश पलायन भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस