Techie IT
२०८२ भाद्र ८, आइतबार

झन्डै ३ हजार करोड भारुको बैंक घोटाला अनुसन्धानमा अनील अम्बानी


भारतीय उद्योगपति अनील अम्बानी र उनको कम्पनी रिलायन्स कम्युनिकेसन्स झन्डै ३ हजार करोड भारु बराबरको बैंक घोटालामा तानिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले अर्बौंको बैंक घोटालासम्बन्धी मुद्दामा अम्बानी र रिलायन्समाथि अनुसन्धान सुरु गरेको हो।

कुनै समय टेलिकम्युनिकेसन क्षेत्रमा अगाडि रहेको रिलायन्सले ठूलो ऋणमा डुबेपछि सन् २०१९ मा दिवालिया हुने निवेदन दिएको थियो। ऋणदाता बैंकहरूको समूहको नेतृत्व गरिरहेको स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले दर्ता गरेको उजुरीका आधारमा अम्बानीमाथि छानबिन सुरु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले उल्लेख गरेको छ।

एसबीआईले रिलायन्समाथि ऋण रकम हिनामिना, गलत विवरण पेश गर्ने र आपराधिक षड्यन्त्र गर्ने जस्ता गम्भीर आरोप लगाएको छ। सोही क्रममा सीबीआईले हालै मुम्बईस्थित रिलायन्स कम्युनिकेसन्सको कार्यालय र अम्बानीको निवासमा छापा मारी महत्त्वपूर्ण कागजात संकलन गरेको द इकोनोमिक टाइम्स ले जनाएको छ।

यस प्रकरणमा भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले समेत समानान्तर छानबिन गरिरहेको छ। ईडीले रिलायन्स होम फाइनान्स लिमिटेड र रिलायन्स कमर्सियल फाइनान्स लिमिटेडमार्फत बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणमा ‘मनी लाउन्डरिङ’ भएको शंका गर्दै अनुसन्धान गरिरहेको ब्लुमबर्ग को समाचारमा जनाइएको छ। ईडीले यसअघि नै अम्बानीसँग बयान लिइसकेको बताइएको छ।

विभिन्न भारतीय सञ्चारमाध्यमका अनुसार, ऋणदाता बैंकहरूले गराएको एक फोरेन्सिक अडिट रिपोर्टले रिलायन्स कम्युनिकेसन्समा ठूलो वित्तीय अनियमितता र कोष दुरुपयोग भएको देखाएको थियो। यही रिपोर्टलाई आधार बनाएर एसबीआईले सीबीआईसमक्ष उजुरी दर्ता गरेको हो।

तर, अनील अम्बानीका प्रवक्ताले यी सबै आरोप अस्वीकार गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “अम्बानी कम्पनीका कार्यकारी निर्देशक होइनन्, उनी गैर–कार्यकारी निर्देशक मात्रै हुन्। कम्पनीको दैनिक व्यवस्थापनमा उनको कुनै संलग्नता छैन।” साथै, यो विषय अदालतमा विचाराधीन भएकाले थप टिप्पणी उपयुक्त नहुने पनि प्रवक्ताले स्पष्ट पारेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट