इरानमा सन् २०२५ मा मात्रै १ हजारभन्दा बढीलाई मृत्युदण्ड

सन् २०२५ को सुरुवातदेखि हालसम्म इरानमा कम्तीमा १ हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जनाएको छ । संस्थाले यसलाई ‘भय सिर्जना गर्ने उद्देश्यले भइरहेको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ ।
गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको र दैनिक औसत नौभन्दा बढी मृत्युदण्ड भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । यो सङ्ख्या सन् २००८ यताकै उच्च हो, जबदेखि आइएचआरले मृत्युदण्डसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न थालेको थियो ।
मानवअधिकारकर्मीहरूका अनुसार पछिल्ला वर्षमा देशभित्र बढेका विरोध प्रदर्शन र इजरायलसँगको द्वन्द्वपछि इरानले मृत्युदण्डलाई अझ तीव्र रूपमा प्रयोग गर्दै आएको छ ।
इरान मानवअधिकारका निर्देशक महमूद अमीरी–मोगहद्दमले भने, “अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्रतिक्रिया नआएपछि मृत्युदण्ड दिनप्रतिदिन बढ्दो छ, जुन मानव अधिकारका दृष्टिले गम्भीर चिन्ताको विषय हो ।”
संस्थाले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय निकायलाई मृत्युदण्डको यस प्रवृत्तिलाई मानवताविरुद्धको अपराध को रूपमा गम्भीरतापूर्वक लिन आग्रह गरेको छ ।
संस्थाका अनुसार, मृत्युदण्डमध्ये करिब ५० प्रतिशत मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दिइएको छ । यस वर्ष सजाय पाउनेमध्ये २८ जना महिला रहेका छन्, जसमा धेरैजसोले आफूलाई हिंसा गर्ने वा जबरजस्ती विवाह गरिएका श्रीमानको हत्या गरेको आरोपमा मृत्युदण्ड भोगिरहेका छन् ।
मानवअधिकार समूह एमनेस्टी इन्टरनेशनल का अनुसार, इरान विश्वमा दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । हालैको प्रतिवेदनमा एमनेस्टीले इरानमा मृत्युदण्डको प्रयोग ‘डर लाग्दो अवस्थामा पुगेको’ भन्दै निष्पक्ष सुनुवाइबिनै नागरिकहरू मृत्युदण्डको जोखिममा रहेको चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस