ट्रम्प–नेतान्याहूबीच गाजामा युद्धविराम गर्न २० बुँदे सर्म्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन्।
दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत युद्धविरामसम्बन्धी जानकारी दिएका हुन्। ट्रम्पले यसका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन्।
ट्रम्पले भने, “यदि हमासले यो योजना स्वीकार गरेन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।”
त्यसपछि नेतान्याहूले थपे, “गाजामा शान्तिपूर्ण प्रशासन स्थापना हुनेछ, हमासका सबै हतियार हटाइनेछन् र इजरायल क्रमशः पछि हट्नेछ। यो सजिलो वा कठिन जुनसुकै बाटोबाट भए पनि सम्पन्न हुनेछ, हमासले अस्वीकार गरे इजरायल आफैं अघि बढ्नेछ।”
यता, हमासले भने आफूहरूले औपचारिक प्रस्ताव प्राप्त नगरेको र हतियार नछोड्ने स्पष्ट पारेको छ। तर प्यालेस्टिनी सरकारले ट्रम्पको योजनाको स्वागत गरेको छ।
ट्रम्पको २० बुँदे गाजा युद्धविराम योजना
पत्रकार सम्मेलनमा ट्रम्पले प्रस्तुत गरेको योजनाका प्रमुख बुँदाहरू यसप्रकार छन्–
- तत्काल युद्ध अन्त्य : सहमति भएसँगै युद्ध तुरुन्त रोकिने।
- इजरायली फिर्ती : सेना क्रमशः गाजाबाट फिर्ता हुने।
- बन्दीमुक्ति : हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्ने।
- कैदी मुक्त : इजरायलले २५० आजीवन कैदीसहित १७०० कैदीलाई मुक्त गर्ने।
- शव आदान–प्रदान : प्रत्येक इजरायली बन्दीको शव साटोमा १५ गाजावासीको शव फिर्ता दिने।
- आतङ्कमुक्त गाजा : आतङ्कवादी आधार र हतियार हटाइने।
- हमास प्रशासनमा नहुने : हमास वा अन्य आतङ्कवादी संगठनलाई सरकारमा स्थान नदिने।
- अस्थायी प्रशासन समिति : योग्य प्राविधिक व्यक्तिहरूबाट समिति गठन गर्ने।
- शान्ति बोर्ड : ट्रम्पको अध्यक्षतामा टोनी ब्लेयरसहित अन्तर्राष्ट्रिय बोर्ड बन्ने।
- पुनर्निर्माण योजना : गाजाको विकासको खर्च उक्त बोर्डले व्यहोर्ने।
- मानवीय सहयोग : तत्काल पर्याप्त सहायता पुर्याइने।
- विशेष व्यापार क्षेत्र : रोजगारी बढाउन व्यापारिक क्षेत्र खोलिने।
- जनताको स्वतन्त्रता : गाजा छोड्ने वा फर्किने स्वतन्त्रता सुनिश्चित गरिने।
- सुरक्षा बल : अन्तर्राष्ट्रिय सुरक्षा बल गाजामा खटिने।
- पुलिस तालिम : गाजा प्रहरीले अन्तर्राष्ट्रिय बलबाट तालिम पाउने।
- सीमा सुरक्षा : इजरायल–मिस्र सीमा थप कडाइ हुने।
- लडाइँ बन्द : युद्ध सकिनेसम्म हवाई आक्रमण र तोपबारी रोकिने।
- मानवअधिकार निगरानी : अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षा हेर्ने।
- शान्ति वार्ता : इजरायल–प्यालेस्टाइनबीच वार्ता सुरु हुने।
- भविष्य योजना : स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने।
पत्रकार सम्मेलनमा कुनै प्रश्न सोध्ने अवसर दिइएन। ट्रम्पले “सबै कुरा निश्चित र हस्ताक्षर नभएसम्म प्रश्नोत्तर गर्ने समय होइन” भनेका थिए । नेतान्याहूले पनि उक्त निर्णयमा सहमति जनाए।
कार्यक्रम हात मिलाउँदै अन्त्य गरेपछि पत्रकारहरूले सोध्न खोजेको प्रश्नलाई दुवैले अस्वीकार गरेका थिए।
नेतान्याहूले सोमबार कतारमा भएको दोहा आक्रमणबारे औपचारिक माफी मागेका छन्। ट्रम्पको आग्रहमा उनले ह्वाइट हाउसबाटै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीलाई फोन गरेर “आक्रमण आतंकवादीलाई लक्षित थियो, कतारलाई होइन” भन्दै दु:ख व्यक्त गरेका हुन्।
सेप्टेम्बर ९ मा हमास नेता खलील अल–हय्यालाई लक्ष्य गरी गरिएको आक्रमणमा ६ जनाको मृत्यु भएको थियो, जसमा एक कतारी अधिकारी पनि थिए। त्यसयता कतारले मध्यस्थता रोकेको थियो।
इजरायलमाथि पछिल्लो समय अन्तर्राष्ट्रिय दबाब तीव्र बनेको छ। संयुक्त राष्ट्रसंघ महासभामा नेतान्याहूको भाषणका क्रममा धेरै देशका प्रतिनिधिहरू बाहिरिएका थिए।
तर अमेरिका भने अझै इजरायलको पक्षमा उभिएको छ। ट्रम्पले स्पष्ट गरेका छन्, “अमेरिका प्यालेस्टाइनलाई देशको मान्यता दिने छैन।”
तर बेलायत, फ्रान्स, क्यानडा र अष्ट्रेलियाले भने हालैको गाजाको हिंसात्मक घटनापछि प्यालेस्टाइनलाई आधिकारिक मान्यता दिएका छन् र इजरायललाई युद्धविराम गर्न दबाब दिइरहेका छन्।
इजरायली राजनीतिभित्रै पनि विभाजन देखिएको छ। नेतान्याहूले सम्झौता गरे सरकार छाड्ने चेतावनी केही दलहरूले दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस