भारतलाई एसिया कप ट्रफी नदिएकोमा पाकिस्तानले नकवीलाई ‘भुट्टो गोल्ड मेडल’ दिने

पाकिस्तान सरकारका गृहमन्त्री तथा त्यहाँको क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीलाई शहीद जुल्फिकार अली भुट्टो एक्सिलेन्स गोल्ड मेडल प्रदान गर्ने निर्णय गरिएको छ।
नकवी एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष समेत हुन् । उनले एसिया कपको फाइनलपछि भारतलाई ट्रफी दिन खोज्दा भारतीय टिमले अस्वीकार गरेकोमा “साहसी अडान” लिएको भन्दै उनलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो।
सिन्ध तथा कराँची बास्केटबल संघका अध्यक्ष गुलाम अब्बास जमालका अनुसार नकवीको कदमले पाकिस्तानको राष्ट्रिय गौरव पुनःस्थापना गरेको छ।
एसिया कप जितेपछि भारतीय टिमले नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको घटनालाई राजनीतिक सन्देशको रूपमा व्याख्या गरिएको थियो। त्यसपछि नकवीले ट्रफी आफैंसँग राखेका थिए र सामाजिक सञ्जालमार्फत भारतीय टिमले चाहे एसीसीको केन्द्रीय कार्यालयबाट ट्रफी लिन सक्ने बताएका थिए।
बीसीसीआईले नकवीको कार्यप्रति आपत्ति जनाएपछि उनले आफूले कुनै गल्ती नगरेको र माफी नमाग्ने स्पष्ट अडान लिएका छन्।
नकवीलाई सम्मान गर्ने सरकारको निर्णयलाई पाकिस्तानी राजनीतिक तथा खेलकुद क्षेत्रमा सकारात्मक रूपमा स्वागत गरिएको छ। उनीहरूको भनाइमा यसले राष्ट्रिय गौरव र देशको प्रतिष्ठा झल्काउँछ।
कराँचीमा विशेष समारोह आयोजना गरेर नकवीलाई औपचारिक रूपमा सम्मान गरिनेछ। कार्यक्रममा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय गरिएको छ।
एसिया कप भारत–पाकिस्तानबीचको राजनीतिक तनावको छायाँमा सम्पन्न भएको थियो। भारतले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने नीति लिएको थियो, र फाइनल जितेपछि भारतीय टिमले नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस