ट्रम्पलाई नोबेल शान्ति पुरस्कार नदिएकोमा पुटिन असन्तुष्ट
भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले नर्वेको नोबेल समितिप्रति असन्तोष व्यक्त गरेको छ।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले शुक्रबार विज्ञप्ति जारी गर्दै भने, “नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ।”
उनका अनुसार राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्न, युद्ध अन्त्य गर्न र मानिसको ज्यान बचाउन योगदान दिइरहेका छन्। “उहाँसँग मानवतावादी हृदय छ, र उहाँ जस्तो कोही छैन जसले आफ्नै इच्छाशक्ति र दृढताले समस्याका पहाडहरू हटाउन सक्छ,” चेउङले भने।
जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफू धेरै द्वन्द्व समाधान गर्ने भूमिकामा रहेको भन्दै नोबेल शान्ति पुरस्कारको हकदार भएको बारम्बार दाबी गर्दै आएका थिए।
शान्ति पुरस्कार घोषणा हुनुअघि ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, “मलाई यो पुरस्कारका लागि मात्र गरेको होइन, मैले धेरै जीवन बचाएको छु।” उनले हालै गाजाको युद्धविरामको पहिलो चरणमा मध्यस्थता गरेको दाबी पनि गरेका थिए।
ओस्लोका नोबेल विशेषज्ञहरूले भने ट्रम्पको ‘अमेरिका पहिलो’ नीति अल्फ्रेड नोबेलको सन् १८९५ मा स्थापना गरिएको शान्ति पुरस्कारको आदर्शसँग मेल नखाने बताएका छन्। उनका अनुसार ट्रम्पको नाम चयन हुने सम्भावना नै थिएन।
पुटिन पनि असन्तुष्ट
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कार नदिएकोमा असन्तोष व्यक्त गरेका छन्। ताजिकिस्तान भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “नोबेल समिति अब विश्वसनीय छैन। यसअघि पनि यस्ता धेरै उदाहरण छन् जहाँ यो पुरस्कार त्यस्ता व्यक्तिलाई दिइयो, जसले शान्तिका लागि केही गरेका नै थिएनन्।”
नाम नलिई उनले थपे, “कयौँ पटक पुरस्कार त्यस्ता व्यक्तिहरूलाई दिइन्छ, जो केही महिनामै देखा परेर हराउँछन्। यसले पुरस्कारको प्रतिष्ठा घटाएको छ।”
यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई प्रदान गरिएको हो। उनले भेनेजुएलामा लोकतान्त्रिक अधिकारहरूको प्रवर्द्धन र तानाशाहीबाट लोकतन्त्रतर्फको शान्तिपूर्ण रूपान्तरणका लागि दुई दशकदेखि निरन्तर संघर्ष गर्दै आएकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस