भारत–चीनबीच सम्बन्धमा सुधार, चार वर्षपछि सिधा हवाई सेवा सुरु
विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देश भारत र चीनबीच लामो समयदेखि रणनीतिक प्रतिद्वन्द्विता रहँदै आएको छ। एसियामा प्रभाव जमाउने प्रतिस्पर्धामा रहेका यी दुई देशबीच सन् २०२० मा हिमालय क्षेत्रमा भएको हिंसात्मक झडपपछि सम्बन्ध निकै बिग्रिएको थियो। तर हाल ती सम्बन्धमा विस्तारै न्यानोपन देखिन थालेको छ।
यसै सन्दर्भमा आइतबारदेखि भारत र चीनबीच सिधा विमान सेवा पुनः सुरु भएको छ। भारत सरकारका अनुसार यो कदमले दुवै देशका नागरिकबीचको सम्पर्क बढाउने र द्विपक्षीय आदान–प्रदानलाई सामान्य बनाउने लक्ष्य राखिएको छ।
चीनसँगको यो नजिकपन त्यस्तो समयमा आएको हो, जब भारतको प्रमुख व्यापारिक साझेदार अमेरिकासँगको सम्बन्ध तनावपूर्ण बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भारतमाथि ५० प्रतिशत दण्डात्मक ट्यारिफ लगाउने आदेश दिएका छन्। ट्रम्प प्रशासनले भारतमाथि रूसबाट तेल किनेर युक्रेन युद्धलाई परोक्ष रूपमा सहयोग गरेको आरोप पनि लगाएको छ।
भारतको इन्डिगो एयरलाइनले आइतबार राति १० बजे कोलकाताबाट चीनको ग्वाङ्झाउका लागि पहिलो दैनिक उडान सुरु गरेको छ। साथै, नोभेम्बरदेखि नयाँ दिल्लीबाट साङ्घाई र ग्वाङ्झाउका लागि पनि सिधा उडान सुरु गरिने जनाइएको छ। भारत र हङकङबीचका नियमित उडानहरू भने पहिले नै सञ्चालनमा रहेका छन्।
भारतीय चेम्बर अफ कमर्स, कोलकाताका अध्यक्ष राजीव सिंहले एएफपीसँग भने, “सिधा हवाई सम्पर्कले लजिस्टिक्स र ट्रान्जिट समयलाई काम गर्नेछ। यसबाट व्यापार र उद्योग दुवैलाई ठूलो फाइदा पुग्नेछ।”
कोलकाता सहरको चीनसँग ऐतिहासिक सम्बन्ध रहेको छ। ब्रिटिस शासनकालमा चिनियाँ व्यापारीहरू कोलकातामा आएर बसोबास गरेपछि सहरको संस्कृतिमा उनीहरूको गहिरो प्रभाव परेको थियो। अहिले पनि इन्डो–चाइनीज भोजन कोलकाताको सांस्कृतिक पहिचानको अभिन्न हिस्सा बनेको छ।
कोलकाताको टाङ्गरा इलाकास्थित चाइनाटाउन समुदायका नेता चेन खोय कुईले भने, “हामीजस्ता मानिसहरूका लागि यो निकै राम्रो खबर हो, जसका नातेदारहरू चीनमा बस्छन्। सिधा हवाई सम्पर्कले व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्नेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस