Techie IT
२०८२ कार्तिक १३, बिहीबार

दक्षिण कोरियामा आज ट्रम्प–सी भेटवार्ता हुँदै : व्यापार युद्ध अन्त्यहुने आशा


सन् २०१९ पछि पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियाको बुसानमा भेटवार्ता हुन लागेको छ। पछिल्ला केही वर्षयता तीव्र बनेको अमेरिका–चीन व्यापार युद्धबीच हुने यो भेटलाई वैश्विक अर्थतन्त्रका लागि महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

ट्रम्प र सीबीच अन्तिम पटक सन् २०१९ मा भेट भएको थियो। त्यसयता दुई देशबीच भन्सार दर, प्रविधि निर्यात, दुर्लभ खनिज तत्त्व (Rare Earth Elements) र सेमिकन्डक्टर चिपसम्बन्धी विवाद झन् चर्किएको थियो। ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि यो विषय फेरि पेचिलो बनेको हो।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार आजको भेट स्थानीय समय अनुसार बिहान ११ बजे सुरु हुनेछ। भेटका क्रममा दुवै नेताबीच व्यापार, प्रविधि, लगानी र रणनीतिक सहयोगका विषयमा केन्द्रित वार्ता हुनेछ।

चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सीबीचको भेट समय तय भएको पुष्टि गर्दै वार्तामा “द्विपक्षीय सम्बन्ध सुदृढीकरण र आपसी हितका एजेन्डा” रहने जनाएको छ।

दक्षिण कोरियाको बुसानमा हुने यो भेटअघि मलेसियामा दुई देशका उच्च अधिकारीबीच पूर्ववार्ता सम्पन्न भएको थियो। सो वार्ताले आगामी सम्भावित व्यापार सम्झौताको प्रारम्भिक रूपरेखा तय गरेको बताइएको छ।

ट्रम्प र सी दुवै अहिले एशिया–प्रशान्त आर्थिक साझेदारी (एपेक) शिखर सम्मेलनमा सहभागी हुन दक्षिण कोरियामा छन्। सम्मेलन सुरु हुनुअघि नै हुने यो भेटलाई एशिया–प्रशान्त व्यापार वातावरणमा स्थायित्व ल्याउने अवसरका रूपमा लिइएको छ।

दुवै देशका अधिकारीहरूले वार्तामा उठ्ने सम्भावित मुद्दा पनि संकेत गरेका छन्।

अमेरिकी पक्षका एजेन्डा:

फेन्टनाइल नियन्त्रण: अमेरिकामा अत्यधिक रूपमा फैलिएको यो लागूपदार्थ चीनबाट आपूर्ति भइरहेको आरोप लगाउँदै ट्रम्पले यसबारे कडाइका उपाय खोज्ने तयारी गरेका छन्।

सोयाबिन र कृषि निर्यात: व्यापारिक प्रतिबन्धका कारण अमेरिकी किसानले ठूलो घाटा व्यहोरेका छन्। चीनले पुनः अमेरिकी कृषि उत्पादन खरिद बढाउने विषयमा छलफल हुनेछ।

रुस–युक्रेन युद्ध: ट्रम्पले युद्ध अन्त्यका लागि मस्को र बेइजिङ दुबैको सहकार्य खोज्ने संकेत दिएका छन्।

चिनियाँ पक्षका एजेन्डा:

एआई र प्रविधि निर्यात नियन्त्रण: अमेरिकाले अत्याधुनिक सेमिकन्डक्टर चिप र एआई प्रविधि निर्यातमा लगाएको प्रतिबन्ध खुकुलो पार्न चीनले माग गर्नेछ।

लगानी वातावरण सहजता: अमेरिकामा चिनियाँ लगानीमाथिको कडाइ हटाई सहज लगानी वातावरण सिर्जना गर्न चीनको जोड हुनेछ।

दुर्लभ खनिज विवाद र विश्व अर्थतन्त्र

दुई देशबीचको व्यापारिक तनावको मूलमा दुर्लभ खनिज तत्त्व (Rare Earth Elements) पनि रहेका छन्। विश्वको ६० प्रतिशतभन्दा बढी दुर्लभ खनिजको खानी चीनमा रहेको अनुमान छ, जसमा प्रयोगयोग्य धातुका ९० प्रतिशतभन्दा बढी चीनमै प्रशोधन हुन्छ।

गत अप्रिलमा बेइजिङले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ७ वटा दुर्लभ खनिज र त्यससँग सम्बन्धित प्रविधिको निर्यातमा कडाइ गरेको थियो। यस कदमलाई विश्लेषकहरूले “व्यापार युद्धको नयाँ चरण” भनेर व्याख्या गरेका छन्।

यो प्रतिबन्धका कारण विश्वव्यापी उत्पादन र वितरण प्रणालीमा प्रभाव परेको छ। विशेषगरी इलेक्ट्रिक गाडी, स्मार्टफोन, र उच्च प्रविधि उपकरण निर्माणमा समस्या देखिएको छ।

ट्रम्पले मंगलबार जापानका प्रधानमन्त्री सानाई ताकाइचीसँग दुर्लभ खनिज उत्खनन र प्रशोधनमा सहकार्य गर्ने सम्झौता गरेका छन्। जापानले गत दशकदेखि चीनमाथिको निर्भरता घटाउँदै आएको छ । सन् २०१० मा ९० प्रतिशत निर्भर रहेको जापानको चीनमाथिको निर्भरता अहिले ६० प्रतिशतमा झरेको छ।

उता, चीनले पनि अमेरिकामाथिको व्यापार निर्भरता घटाउने उद्देश्यसहित दक्षिणपूर्वी एसियाली मुलुकहरूको गठबन्धन (एसियन ब्लक) सँग नयाँ स्वतन्त्र व्यापार सम्झौता गरेको छ। गत वर्ष मात्रै चीन–एसियनबीचको व्यापार ७७१ अर्ब अमेरिकी डलर पुगेको थियो, जुन अमेरिका–चीन व्यापार (६५९ अर्ब डलर) भन्दा धेरै हो।

हालको व्यापारिक तनाव घटाउने विषयमा केही दिनअघि मलेसियाको क्वालालम्पुरमा अमेरिकी र चिनियाँ प्रतिनिधिबीच वार्ता भएको थियो। चीनको सर्त थियो “सेमिकन्डक्टर चिप निर्यात सहज नगरेसम्म दुर्लभ खनिज निर्यात खुला हुँदैन।”

अमेरिकाले भने चीनमाथि प्रविधि प्रतिबन्ध लगाउने कारण व्यापारिक होइन, रणनीतिक भएको बताउँदै आएको छ। विश्लेषकहरूको भनाइमा, चीनको प्रविधि विकासमा अवरोध पुर्‍याउने अमेरिकाको रणनीति दीर्घकालीन प्रतिस्पर्धात्मक टकरावको संकेत हो।

हार्वर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. जियन्ली याङका अनुसार, “यो वार्ता दीर्घकालीन सहमति भन्दा पनि तत्काल व्यापारिक तनाव घटाउनेतर्फ केन्द्रित हुनेछ।” त्यसैगरी, क्रेइग काफुरा (सिकागो काउन्सिल अन ग्लोबल एफियर्स) लेख्छन्, “यदि कुनै अस्थायी सहमति भयो भने पनि त्यसले अमेरिका–चीनबीचको आर्थिक प्रतिस्पर्धामा दीर्घकालीन परिवर्तन ल्याउने सम्भावना छैन।”

दक्षिण कोरियामा शिखर सम्मेलनमा सहभागी हुन पुगेका ट्रम्पलाई आज “ग्रान्ड अर्डर अफ मुगुनग्वा” नामक उच्च राष्ट्रिय सम्मान प्रदान गरिएको छ। कोरियाली राष्ट्रपति ली जेई मायुङले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ट्रम्पले खेलेको भूमिकाको कदर गर्दै यो सम्मान दिएका हुन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाका नेता किम जोङ उनसँग बारम्बार भेटवार्ता गर्दै कोरियाली प्रायद्वीपमा तनाव घटाउने प्रयास गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट