Techie IT
२०८२ कार्तिक १५, शनिबार

अमेरिकामा एच-वानबी भिसाको दुरुपयोगविरुद्ध ‘प्रोजेक्ट फायरवाल’ सुरु


ट्रम्प प्रशासनको श्रम विभागले कम्पनीहरूलाई एच-वानबी भिसाको दुरुपयोग गरेको आरोप लगाएको छ। भिडियो सन्देशमा भनिएको छ, कम्पनीहरूले विदेशी कामदारलाई कम तलबमा रोजगारी दिँदै अमेरिकी युवाहरूको रोजगारी अवसर खोसिरहेका छन्, जसले अमेरिकन ड्रीममा असर पुर्‍याएको छ।

भिडियोमा राजनीतिक नेतृत्व र सम्बन्धित कर्मचारीहरूलाई पनि यस किसिमको अनियमितता हुन दिएकामा दोषी ठहर गरिएको छ। ट्रम्प प्रशासनका अनुसार एच-वानबी भिसा धारकमध्ये ७२ प्रतिशत भारतीय र १२ प्रतिशत चिनियाँ नागरिक छन्।

भिडियोमा अमेरिकी राष्ट्रपति र श्रम मन्त्री लोरी चाभेज-डर्मरको नेतृत्वमा कम्पनीहरूलाई भिसा दुरुपयोगका लागि जवाफदेही बनाउने र अमेरिकी युवाहरूको अवसर सुनिश्चित गर्ने अभियान चलाइने जानकारी दिइएको छ।

प्रोजेक्ट फायरवाल के हो?

५१ सेकेन्ड लामो भिडियोमा सन् १९५० को दशकका अमेरिकी परिवार र घरहरूको फुटेज देखाउँदै ‘प्रोजेक्ट फायरवाल’ कार्यक्रमको चर्चा गरिएको छ। यस कार्यक्रम मार्फत कम्पनीहरूलाई एच-वानबी भिसा दुरुपयोगमा जिम्मेवार ठहराउने र भर्ती प्रक्रियामा अमेरिकी कामदारलाई प्राथमिकता दिने लक्ष्य राखिएको छ।

श्रम विभागले सेप्टेम्बर २०२५ मा यो कार्यक्रम सुरु गरेको हो। यसको मुख्य उद्देश्य अमेरिकी कामदारहरूको अधिकार, तलब र रोजगारी सुनिश्चित गर्नु हो।

अब के हुन्छ?

नयाँ नियम अनुसार, कम्पनीहरूले विदेशी कामदार राख्नु अघि अमेरिकीहरूलाई प्राथमिकता दिनुपर्छ। यदि कम्पनीमा अनियमितता भेटियो भने, प्रभावित कामदारलाई बक्यौता तलब तिर्ने, सिभिल जरिवाना लगाउने र निश्चित समयका लागि एच-वानबी कार्यक्रममा रोक लगाउने प्रावधान छ।

अमेरिकी सरकारले गत महिना एच-वानबी भिसाको शुल्क एक लाख डलर (करिब १ करोड ४० लाख नेपाली रुपैयाँ) पुर्‍याउने निर्णय गरेको छ। व्हाइट हाउसका अनुसार यो शुल्क नयाँ भिसा आवेदनका लागि मात्रै लागू हुनेछ र पुराना भिसा होल्डरहरूलाई लाग्दैन।

पहिलेको शुल्क करिब ९–१० लाख रुपैयाँ थियो र ३ वर्षका लागि मान्य हुन्थ्यो। नवीकरण गर्दा थप ३ वर्षका लागि सोही शुल्क लाग्थ्यो, जसले ६ वर्ष अमेरिकामा बस्न करिब १७–२० लाख रुपैयाँ खर्च हुन्थ्यो।

अमेरिकन ड्रीम: योग्यता र मेहनतमा आधारित अवसर

अमेरिकन ड्रीम भनेको यस्तो समाज जहाँ मेहनत गर्ने हरेक व्यक्तिले आफ्नो जीवन सुधार्न सक्छ। सन् १७७६ मा अमेरिकाका संस्थापकहरूले सबै मानिस बराबर जन्मिएका र स्वतन्त्रता तथा खुशी खोज्ने अधिकार राख्ने घोषणा गरेका थिए।

सन् १९३१ मा लेखक जेम्स एडम्सले यसलाई ‘अमेरिकन ड्रीम’ नाम दिएका थिए। उनले भने, सफलता जन्म वा परिवारको कारणले होइन, मेहनत र योग्यतामा आधारित हुनुपर्छ।

फ्लोरिडाका गभर्नर रन डेसेन्टिसले राज्यका विश्वविद्यालयहरूलाई एच-वानबी भिसामा विदेशी कामदार नदिन आदेश दिएका छन्। योग्य अमेरिकीहरूको सट्टा विदेशीलाई भर्ती गर्न नपाइने बताए।

डेसेन्टिसका अनुसार विश्वविद्यालयहरूले योग्य अमेरिकीहरू नभेटेमा आफ्ना पाठ्यक्रमको समीक्षा गर्नुपर्छ, ताकि स्नातकहरू ती जागिरका लागि योग्य बन्न सकून्।

फ्लोरिडामा करिब ७,२०० एच-वानबी भिसा धारक छन्, अधिकांश निजी कम्पनीमा भए पनि विश्वविद्यालयहरूमा पनि यसको प्रयोग हुँदै आएको थियो।

– एजेन्सीहरूको सहयोगमा



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट