भारतमा २६० जनाको मृत्यु भएको विमान दुर्घटनाको अनुसन्धान विवादमा
भारतमा करिब पाँच महिनाअघि २६० जनाको ज्यान जाने गरी भएको विमान दुर्घटनाको अनुसन्धान अहिले विवादमा फसेको छ। यस मामलामा भारतको सर्वोच्च अदालतले समेत चासो देखाएको छ।
गत जुन १२ मा अहमदाबादबाट लन्डनतर्फ उडान भरिरहेको एयर इन्डियाको फ्लाइट १७१ उडेको ३२ सेकेन्डमै भवनमा ठोक्किएको थियो। जुलाईमा सार्वजनिक प्रारम्भिक प्रतिवेदनले विमानको सम्भावित प्रविधिगत खराबीभन्दा बढी चालक दलको कार्यप्रति ध्यान केन्द्रित गरेको भन्दै आलोचना खेपिरहेको छ। शुक्रबार भारतको सर्वोच्च अदालतका एक न्यायाधीशले विमानका कप्तानलाई दोष दिन नहुनेमा जोड दिएका छन्।
यसअघि एयर इन्डियाका प्रमुख कार्यकारी अधिकृत क्याम्पबेल विल्सनले दुर्घटनामा संलग्न व्यक्ति र परिवारका लागि यो घटना ‘पूर्ण रूपमा विनाशकारी’ भएको स्वीकार गर्दै पनि विमानमा कुनै प्रविधिगत समस्या नभएको दाबी गरेका थिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानले ‘विमान, इन्जिन वा एयरलाइनको सञ्चालन प्रणालीमा कुनै खराबी नभएको’ संकेत गरेको छ।
तर प्रारम्भिक प्रतिवेदनमा उडान सुरु भएको केही सेकेन्डमै इन्धन काट्ने स्विचहरू ‘रन’ बाट ‘कटअफ’ स्थितिमा सारिएको उल्लेख छ, जसका कारण इन्जिन इन्धनविहीन भई थ्रस्ट गुमाएको देखिन्छ। ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कोलाई ‘किन काट्यौँ?’ भनेर सोधेको र अर्कोले ‘मैले काटेको होइन’ भनेर जवाफ दिएको उल्लेख छ।
यस तथ्यले पाइलटहरू—क्याप्टेन सुमित सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दर—को भूमिकाबारे गम्भीर अड्कलबाजी उत्पन्न गरेको छ। पीडित परिवारका वकिलहरूले सम्पूर्ण विवरण सार्वजनिक नगरी पाइलटहरूलाई दोषारोपण गर्नु अन्यायपूर्ण भएको बताएका छन्, जबकि केही विज्ञहरूले यो घटनामा पाइलटको आत्महत्यासम्मको सम्भावना समेत औँल्याएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस