ढाकामा श्रृंखलाबद्ध ११ स्थानमा बम विस्फोट र आगजनी, देशभर उच्च सुरक्षा सतर्कता
रेलवे विभागले स्टेशन, पट्री र इन्धन भण्डारण केन्द्रमा रात्री गस्ती र सिसिटिभी निगरानी अनिवार्य गरेको छ
बंगलादेशको राजधानी ढाकामा मंगलबार श्रृंखलाबद्ध बम विस्फोट र आगजनीका घटनापछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
बंगलादेशी अनलाइन द डेली स्टार का अनुसार ढाकाका सार्वजनिक यातायात, धार्मिक स्थल र सरकारी कार्यालयहरू लक्षित गरी विस्फोट र आगजनी गरिएका हुन्। लगातार आक्रमणपछि सहर आतंकित बनेको जनाइएको छ।
ढाका प्रहरीलाई उद्धृत गर्दै डेली स्टार ले मंगलबार मात्रै ११ स्थानमा विस्फोट भएका पुष्टि गरेको छ। ती विस्फोटमा घरेलु रूपमा तयार पारिएका ‘क्रुड बम’ प्रयोग गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार बिहान ३:४५ बजे अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले स्थापना गरेको ग्रामीण बैंकको मुख्यालयअगाडि पहिलो विस्फोट भएको थियो। सो क्रममा मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फ्याँकेर फरार भएका थिए।
त्यसपछि बिहानै माछा तथा पशुपालन सल्लाहकार फरिदा अख्तरसँग सम्बन्धित संस्था प्रवर्तन मा अर्को विस्फोट भएको थियो। बिहान साढे सात बजे धानमण्डीस्थित इब्न सिन्हा अस्पताल र मिडास सेन्टर वरिपरि चारवटा बम फ्याँकिएको बताइएको छ।
साँझदेखि रातिसम्म मौचक, अगारगाँवस्थित बंगलादेश बेटार अगाडि, खिलगाँउ फ्लाइओभर, मिर्पुरको शाह अली मार्केट र बङ्गला मोटरस्थित नेशनल सिटिजन पार्टी (एनसीपी) कार्यालयमा थप विस्फोट भएका थिए। अन्तिम आक्रमणमा एक सर्वसाधारण सामान्य रूपमा घाइते भएका छन्।
एनसीपीका संयुक्त सदस्य सचिव मुश्फिक उस सालेहिनका अनुसार घटनास्थलबाट एउटा नफुटेको बम बरामद गरिएको र पाँच जना संदिग्धलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाइएको छ।
यसअघि शुक्रबार पनि काक्राइलस्थित सेन्ट मेरी क्याथेड्रल र मोहम्मदपुरका धार्मिक आवासमा बम आक्रमण भएका थिए। सोही दिन शाहजादपुर र मेरुल बड्डामा दुई बसमा आगजनी गरिएको र राति धानमण्डीमा अर्को बस जलाइएको प्रहरीले जनाएको छ।
घटनापछि ढाका महानगर प्रहरीले प्रमुख सरकारी निकाय वरिपरि सभा–जुलुसमा प्रतिबन्ध लगाएको छ। नोभेम्बर १३ मा पूर्वप्रधानमन्त्री शेख हासीना विरुद्धको मुद्दाको फैसला मिति तय भएकाले त्यसअघि सुरक्षा थप कडा पारिएको बताइएको छ।
प्रहरी मुख्यालयले सबै थानालाई गस्ती र निगरानी बढाउन निर्देशन दिएको छ। प्रमुख सल्लाहकारको प्रेस विङले जारी विज्ञप्तिमा ढाका महानगर प्रहरी र र्यापिड एक्सन बटालियनले अपराधी पत्ता लगाउन सहरव्यापी खोज अभियान सुरु गरेको जनाएको छ। प्रेस विङले धार्मिक सद्भाव बिगार्ने प्रयास कानूनी रूपमा कठोर कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएको छ।
आक्रमणहरू सत्तारूढ अवामी लिगद्वारा नोभेम्बर १३ का लागि आह्वान गरिएको “ढाका लकडाउन” अभियानसँग समय मिल्ने गरी भएका हुन्। यद्यपि, राजनीतिक गतिविधि हाल प्रतिबन्धित अवस्थामा छन्।
प्रहरीको डिटेक्टिभ ब्रान्चका प्रमुख साफीकुल इस्लामका अनुसार ३४ जना अवामी लिग कार्यकर्ता योजनाबद्ध दंगा र आर्थिक सहयोग आरोपमा पक्राउ परेका छन्। बम विस्फोटमा संलग्न आरोपमा एक जना छात्र लिग सदस्य पनि पक्राउ परेको जनाइएको छ।
घटनापछि ढाकामात्र होइन, देशभरका महत्वपूर्ण संरचनामा सुरक्षा कडाइ गरिएको छ। रेलवे, विद्यालय, अस्पताल र धार्मिक स्थलहरूमा विशेष निगरानी बढाइएको छ।
रेलवे विभागले स्टेशन, पट्री र इन्धन भण्डारण केन्द्रमा रात्री गस्ती र सिसिटिभी निगरानी अनिवार्य गरेको छ। त्यस्तै, ढाका मेट्रो रेल सञ्चालन गर्ने डीएमटिसिएलले सम्भावित अस्थिरता पूर्वानुमान गर्दै सबै कर्मचारीको बिदा रद्द गरेको छ।
बंगलादेश प्रहरी प्रवक्ता एएचएम साहदल हुसैनले देश अस्थिर पार्ने हरेक प्रयासलाई दृढतापूर्वक रोकिने बताएका छन्। “पूर्वनिर्वाचन हिंसा बंगलादेशमा नयाँ होइन, तर यसपटक हामी पूर्ण तयारी अवस्थामा छौं,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस