Techie IT
२०८२ मंसिर २, मंगलबार

मृत्युदण्ड राजनीतिक रूपमा प्रेरित - शेख हसिना


बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूविरुद्ध ढाकाको अदालतले सुनाएको मृत्युदण्डको फैसलालाई ‘पक्षपाती र राजनीतिक रूपमा प्रेरित’ भएको भन्दै कडा निन्दा गरेकी छिन्।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले आज मंसिर १ गते (नोभेम्बर १७) पूर्वप्रधानमन्त्री हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमलविरुद्ध मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको हो।

यस निर्णयको विरोध स्वरूप हसिनाले पाँच पृष्ठ लामो विज्ञप्ति जारी गर्दै भनेकी छन्, “मृत्युदण्ड भनेको राजनीतिक शक्तिका रूपमा अवामी लिगलाई अवैध बनाउने अन्तरिम सरकारको तरिका हो।” अवामी लिग शेख हसिनाको पार्टी हो।

यसअघि हसिनाले मुद्दालाई ‘प्रहसन’ भन्दै आफूविरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेकी थिइन्। उनले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा हाल्न चुनौती समेत दिएकी थिइन्।

सन् २०२४ को अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोह उग्र बनेपछि हसिनाले १५ वर्षे शासन त्याग्दै हेलिकप्टरमार्फत देश छोडेकी थिइन्। त्यस बेला विद्यार्थी आन्दोलनमा तत्कालीन सरकारले बल प्रयोग गर्दा झन्डै १,४०० जनाको मृत्यु भएको थियो।

हसिनाले आफ्नो विज्ञप्तिमा भनिन्, “म उपयुक्त न्यायाधिकरणमा दोष लगाउनेहरूको सामना गर्न डराउँदिन। तर प्रमाणहरू निष्पक्ष रूपमा तौलिन र परीक्षण हुनुपर्छ।” उनले मानवअधिकार र विकासमा आफ्नो सरकारको योगदानमा गर्व पनि व्यक्त गरेकी छन्।

हाल शेख हसिना भारतमा निर्वासनमा छिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट