मेसीको अन्तराष्ट्रिय फुटबलबाट भावुक बिदाइ
सुपरस्टार कप्तान लियोन मेसीको भावुक बिदाइ खेलमा अर्जेन्टिनाले बेनिनविरुद्ध ३–० को सहज जित निकालेको छ। बुधबार ब्युनस आयर्सस्थित मास मोन्युमेन्टल रंगशालामा भएको खेलमा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डी, निको पाज र लियोन मेसीले एक–एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा ओटामेन्डीको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। त्यसपछि ६१औँ मिनेटमा पाजले टोलीको अग्रता दोब्बर बनाए भने खेलको ७१औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए। अन्तर्राष्ट्रिय फुटबलमा यो मेसीको १२६औँ गोल हो।
मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिसकेको अवस्थामा अर्जेन्टिना फुटबल संघले उनको सम्मानमा यो भव्य बिदाइ खेल आयोजना गरेको थियो। “लास्ट ट्याङ्गो” नाम दिइएको यो खेल मेसीको करिअरको २०८औँ अन्तर्राष्ट्रिय खेल हो।
विशेष अवसरका लागि एडिडासले मेसीको ब्रान्ड लोगो अंकित विशेष जर्सी तयार पारेको थियो। खेल समापन पश्चात म्याच रेफ्रीले मेसीलाई रातो र पहेंलो कार्ड हस्तान्तरण गरेर विशेष सम्मान दिएका थिए भने रंगशालाको ठूलो स्क्रिनमा उनको गौरवशाली खेल यात्रा झल्काउने भिडियो प्रदर्शन गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस