हङकङमा दशककै डरलाग्दो आगलागी: मृतकको संख्या ९४ पुग्यो, ठेकेदार सहित ३ जना पक्राउ
हङकङमा बुधबार राति भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको छ, भने केही मानिसको अवस्था अझै अज्ञात रहेको अधिकारीहरूले बताएका छन्। मृतकमध्ये धेरैजसो सुतिरहेको अवस्थामा धुवाँमा निसास्सिएर जीवन गुमाएका प्रारम्भिक रिपोर्टबाट बुझिएको छ।
सुरुवाती अनुमान अनुसार आगो विद्युत् सर्टका कारण लागेको आशंका गरिएको छ। यद्यपि, वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
आगलागी घना बस्ती भएको क्षेत्रमा रहेको आवासीय भवनमा मध्यराततिर सुरु भएको थियो। धेरै तले ती भवनहरूमा विदेशी कामदारदेखि स्थानीय दर्जनौँ परिवारहरू बसोबास गर्दै आएका थिए।
घटनास्थलमा उद्धार कार्य निरन्तर जारी छ। घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ, र तीमध्ये धेरैजनाको अवस्था गम्भीर रहेको बताइएको छ। आगलागीका कारण विस्थापित भएकाहरूका लागि अस्थायी बसोबासको व्यवस्था नगर प्रशासनले मिलाएको छ।
हङकङ प्रशासनले मृतकका परिवारलाई आवश्यक राहत एवं सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। साथै, पुनर्स्थापनाका कार्यक्रम पनि अघि बढाइने जनाएको छ।
यसैबीच, हङकङका प्रमुख कार्यकारी जोन ली काइ-चियुले घटनापछि ठूलो मात्रामा मर्मत भइरहेको सबै सार्वजनिक आवास परियोजनामा सुरक्षा निरीक्षण गर्न निर्देशन दिएका छन्। प्रहरीले ८३ जनाको मृत्यु पुष्टि गरेपछि यो आगलागी पछिल्लो दशकमै सबैभन्दा घातक घटना भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानमा भवनका प्रत्येक तल्लामा लिफ्ट झ्यालमा जडान गरिएको अत्यधिक ज्वलनशील स्टाइरोफोम तथा बाहिरी संरचनामा प्रयोग गरिएका असुरक्षित जालीका कारण आगो तीव्र गतिमा फैलिएको खुलेको छ। भवन मर्मतका लागि जिम्मेवार ठेकेदार कम्पनीका दुई निर्देशक र एक परामर्शदातालाई गैरकानुनी सामग्री प्रयोग गरेको आरोपमा पक्राउ गरिएको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि घटनाप्रति समवेदना व्यक्त गर्दै क्षति न्यूनीकरणका लागि सबै प्रयास गर्न आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस