Techie IT
२०८३ असोज २०, मंगलबार

बीपी, गणेशमान र नोना कोइरालाका छोरा नअट्ने कांग्रेस हुन सक्दैन - सभापति उम्मेदवार राठौर


नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका नेता किशोरसिंह राठौरले आफ्नो क्षेत्रमा प्रतिनिधि छनोटको प्रक्रिया अनावश्यक रूपमा लम्बाइएको आरोप लगाएका छन्।

काठमाडौँस्थित रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्वसहमहामन्त्रीसमेत रहेका राठौरले आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेकै कारण प्रतिनिधि छनोट प्रक्रियामा अवरोध पुर्‍याइएको दाबी गरेका छन् । “यहाँ केन्द्रीय पदाधिकारीको मनोनयन चल्दै छ, तर मेरो क्षेत्रमा कुनै विवाद नभए पनि जबर्जस्ती लम्बाइयो र मलाई प्रतिनिधि बन्नै धेरै समय कुर्नुपर्ने बनाइयो” उनले भने । मेरो क्षेत्रमा आज मतगणना चलिरहेको छ, म अझै प्रतिनिधि भइसकेको छैन।

पार्टी मिलाउन र बृहत् एकताका लागि उम्मेदवारी
कांग्रेस अहिले तीन-चारतिर छरिएको उल्लेख गर्दै राठौरले पार्टीलाई एकताबद्ध बनाउन र पुरानै त्याग, बलिदान एवं सङ्घर्षको बाटोमा फर्काउन आफूले सभापतिमा उम्मेदवारी दिएको स्पष्ट पारे। आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताउँदै उनले विवाद बढाउनुभन्दा सहमतिका आधारमा अघि बढ्नुपर्ने प्रस्ताव महामन्त्री गगन थापालाई समेत पठाएको खुलासा गरेका छन् ।

“मैले गगनजीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाऔँ, नेताहरू घेराबन्दीमा परेका बेला विशेष महाधिवेशन गरेर विवाद नबढाऔँ भनेकै हुँ” राठौरले भने।

पार्टीको इतिहास र योगदान बोकेका नेताहरूलाई किनारा लगाएर कांग्रेस अघि बढ्न नसक्ने कडा चेतावनी उनले दिए। बीपी कोइराला, गणेशमान सिंह, नोना कोइराला र महेन्द्रनारायण निधिका परिवार र सन्तानलाई बाहिर राखेर गर्न खोजिएको महाधिवेशनको घातक परिणाम आगामी स्थानीय तह निर्वाचनमै देखिने उनको भनाइ छ।

नेविसंघको पूर्वअध्यक्षसमेत रहेका राठौरले आफू प्रधानमन्त्री वा केवल सभापति बन्न मात्रै नभई टुटफुटमा पुगेको पार्टीलाई एकताबद्ध बनाउन मैदानमा उत्रिएको बताए। विशेष महाधिवेशन पक्षधरहरूले आफूलाई सहजै स्वीकार गर्ने अवस्था नरहेको भए पनि विगतमा नेविसंघ अध्यक्ष हुँदा जस्तै यो परिस्थिति पनि चिर्दै अघि बढ्ने उनको दृढता छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट