Techie IT
२०८३ असोज २०, मंगलबार

कांग्रेस १५औँ महाधिवेशन: ७,११४ महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन


नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियामा भाग लिने महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ।

कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन भएको जानकारी दिएका छन्। नयाँ नामावली प्रकाशनसँगै कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचनमा भाग लिने कुल प्रतिनिधिको सङ्ख्या ७,११४ पुगेको छ।

सदस्यसचिव कटुवालका अनुसार प्रकाशित मतदाता नामावलीउपर बिहान ९:३० बजेसम्म दाबी विरोधको समय तोकिएको थियो भने ९:३० देखि १०:३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ र बिहान ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ। यसैगरी, आजै उम्मेदवार मनोनयन दर्ता फारम वितरण र दिउँसो १२:३० बजेदेखि साँझ ४:०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ।

यसअघि, सोमबार सम्पन्न कांग्रेसको बन्दसत्रले पार्टीको विधान संशोधन गर्दै २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरेको छ। सोही नयाँ विधानको व्यवस्थाअनुसार नै अहिले निर्वाचन प्रक्रिया अगाडि बढाइएको कांग्रेसले जनाएको छ।

महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउन दुई सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ। आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र तथा अन्य गतिविधिलाई सहज बनाउन उनीहरूलाई खटाइएको हो।

कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाले महाधिवेशनमा भाग लिन देश तथा विदेशबाट काठमाडौँ आइपुगेका करिब ७,५०० प्रतिनिधिहरूको सहजताका लागि बन्दसत्र र निर्वाचन हुने स्थलहरूमा स्वयंसेवकहरू परिचालन गरिएको जानकारी दिए।

आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र तथा निर्वाचनका कार्यक्रमहरू चलिरहेका छन् भने असोज २१ र २२ गते मतदानको कार्यतालिका रहेको छ। महाधिवेशनको बन्दसत्रमा पार्टीका सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आआफ्ना प्रतिवेदनहरू प्रस्तुत गरिसकेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट