धनगढीमा जन्मदिन मनाइरहेका बेला चट्याङ पर्दा ७ जना घाइते
धनगढीमा चट्याङको झिल्का लागेर सातजना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नामा चट्याङ पर्दा त्यसको झिल्का लाग्दा उनीहरू घाइते भएका हुन्। यद्यपि, घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मंगलबार राति करिब ९:३० बजेको समयमा स्थानीय खुसीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ खसेको थियो। सोही चट्याङको झिल्का लागेर उनीहरू घाइते हुन पुगेका हुन्।
चट्याङ लागेर घाइते हुनेहरूमा धनगढी उपमहानगरपालिका–१७, धुर्जन्नाकी ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।
घटनालगत्तै घाइते सातै जनालाई राति करिब ११:०५ बजे धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस