बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विभिन्न रोगबाट ग्रसित रहेकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो। उनी विगत २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन्। उनको निधनको पुष्टि परिवार तथा पार्टीका शीर्ष नेताहरूले गरेका छन्।
खालिदा जिया पछिल्ला वर्षहरूमा छातीको संक्रमण, कलेजो र मिर्गौला समस्या, मधुमेह, बाथ तथा आँखासम्बन्धी जटिल रोगबाट पीडित थिइन्। स्वास्थ्य अवस्था लगातार जटिल बन्दै गएपछि उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको थियो।
सन् १९९१–१९९६ र २००१–२००६ सम्म गरी दुई कार्यकाल बंगलादेशको प्रधानमन्त्री बनेकी खालिदा जिया बंगलादेशका पूर्वराष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन्। उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा समेत चिनिन्छिन्।
उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा निर्वासन जीवन बिताउँदै आएका थिए र यही महिना मात्र बंगलादेश फर्किएका थिए। उनका कान्छा छोरा अराफात रहमानको भने सन् २०१५ मा हृदयाघातका कारण निधन भइसकेको छ।
भ्रष्टाचार मुद्दा र कारावास
फेब्रुअरी ८, २०१८ मा ढाकाको विशेष अदालतले खालिदा जियालाई जिया अनाथालय ट्रस्टको नाममा सरकारी कोष हिनामिना गरेको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाएको थियो। सोही मुद्दामा उनका छोरा तारिक रहमानसहित अन्य अभियुक्तलाई १० वर्षको सश्रम कारावास र २ करोड १० लाख बंगलादेशी टाका जरिवाना सुनाइएको थियो। पछिल्लो चरणमा उच्च अदालतले जियाको सजाय बढाएर १० वर्ष पुर्याएको थियो। लामो कानुनी प्रक्रियापछि, तत्कालीन राजनीतिक घटनाक्रमका बीच उनी अगस्ट ६, २०२४ मा रिहा भइन् र थप उपचारका लागि लन्डन गइन्। चार महिना उपचारपछि उनी मे ६ मा स्वदेश फर्किएकी थिइन्।
बंगलादेशको राजनीति लामो समयसम्म दुई शक्तिशाली महिला नेतृ अवामी लिगकी शेख हसिना र बीएनपीकी खालिदा जियाको वरिपरि केन्द्रित रह्यो। सन् १९८० को दशकमा सैन्य शासनविरुद्ध दुवैले सडक आन्दोलनको नेतृत्व गरेका थिए। सन् १९९० मा तानाशाह एरशादको पतनपछि लोकतन्त्र फर्किएसँगै सन् १९९१ को चुनावमा खालिदा जियाको विजय भयो, जसले यी दुई नेतृबीचको कटु राजनीतिक प्रतिद्वन्द्वितालाई थप चर्काएको थियो । मिडियाले यस संघर्षलाई ‘बेगमहरूको युद्ध’ नाम दिएको थियो।
सन् १९४५ मा जन्मिएकी खालिदा जिया कुनै राजनीतिक पृष्ठभूमि नभएको परिवारबाट आएकी थिइन्। सन् १९६० मा उनले सैनिक अधिकारी जियाउर रहमानसँग विवाह गरेकी थिइन् । सन् १९८१ मा पतिको हत्या भएपछि बीएनपी संकटमा पर्यो। सोही बेला पार्टी नेतृत्वले खालिदालाई अगाडि सारेपछि उनले अनिच्छुकतासाथ राजनीतिमा प्रवेश गरिन् र सन् १९८४ मा पार्टीको नेतृत्व सम्हालेकी थिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस