Techie IT
२०८३ असोज १६, शुक्रबार

हुम्लाको हिल्सामा भारी हिमपात, ४१ नेपाली सीमामै अलपत्र


हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगै परेको भारी हिमपातका कारण ४१ जना नेपाली अलपत्र परेका छन्। हिल्सा–ताक्लाकोट आवतजावत ठप्प भएपछि उनीहरू सीमाक्षेत्रमै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले जानकारी दिएका छन्।

अध्यागमन अधिकृत पौडेलका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का बासिन्दा रहेका छन्। उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन्। गत शुक्रबार हिल्सा पुगेका उनीहरू अचानक सुरु भएको भारी हिमपातका कारण अगाडि बढ्न नसेपछि उतै रोकिएका हुन्।

कैलाश मानसरोवर यात्रा स्थगित
हिमपातका कारण चिनियाँ पक्षले कैलाश मानसरोवर दर्शनका लागि हुने आवतजावत फिलहाल बन्द गरेको छ। हिल्सास्थित अध्यागमन कार्यालयका कर्मचारी पेमा लामाका अनुसार आगामी अक्टोबर ४ (असोज १८ गते) देखि मात्र नाका खुल्ने जानकारी प्राप्त भएको छ।

चीनतर्फको सडक खुलाउने प्रयास भइरहे पनि नेपालतर्फ भने अझै केही दिन लाग्ने देखिएको छ। हुम्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्मका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ।

हिल्सा पुग्नका लागि पार गर्नुपर्ने नारा लेकमा समेत बाक्लो हिउँ जमेकाले पन्छाउन थप समय लाग्ने देखिएको छ। क्षेत्रमा एउटा मात्र स्काभेटर उपलब्ध हुनु र इन्धनको समेत अभाव हुँदा सडक खुलाउने काममा कठिनाइ भएको छ। हाल स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासमा हिउँ पन्छाएर बाटो खुलाउने काम जारी छ।

यसैबीच, यस वर्ष हालसम्म हिल्सा नाका हुँदै ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका छन्। अध्यागमन कार्यालयका अनुसार दर्शनार्थीहरूमा अधिकांश भारतीय नागरिक रहेका छन् भने त्यसपछि बेलायत, अमेरिका र केही नेपाली पर्यटक रहेका छन्।

यस वर्षको कैलाश मानसरोवर दर्शनको मुख्य सिजन सकिने बेलामा भएको यो भारी हिमपातले आवतजावत ठप्प पार्नुका साथै सीमाक्षेत्रको स्थानीय व्यापार र जनजीवन पूर्णरूपमा प्रभावित बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट