Techie IT
२०८३ असोज १६, शुक्रबार

पोखरा विश्वविद्यालयले कानुन संकाय स्थापना गर्ने


पोखरा विश्वविद्यालयको २६औँ साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७५ करोड ८० लाख रुपैयाँको बजेट तथा नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। 

विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा–३०, ढुंगेपाटनमा शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभाले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई आगामी वर्षको प्राथमिकतामा राखेको छ।

सभामा उपकुलपति प्रा.डा. देवेन्द्र अधिकारीले विश्वविद्यालयको नीति तथा कार्यक्रम र रजिस्ट्रार प्रा.डा. निर्मला जमरकट्टेलले आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए ।  नीति तथा कार्यक्रमलाई सभाले अनुमोदन गरेको छ। साधारण सभाले विश्वविद्यालयको विद्यमान नियमावलीमा आवश्यक संशोधन गर्दै मानविकी तथा सामाजिक शास्त्र सङ्कायलाई पुनर्गठन गरी ‘मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय’ स्थापना गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।

यसैगरी, सभाले ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विस्तार गरिएको कार्यलाई अनुमोदन गरेको छ। साथै, बीई मेकानिकल, बीआईसीए र बीबीए फाइनान्सलगायत विभिन्न शैक्षिक कार्यक्रमको उपाधि निर्धारण तथा विशेष मौका परीक्षा सञ्चालन गर्ने निर्णयसमेत पारित भएको छ।

सभालाई सम्बोधन गर्दै सहकुलपति एवं मन्त्री पोखरेलले विश्वविद्यालयहरूले आफ्नो विशिष्टताका आधारमा छुट्टै पहिचान बनाउनुपर्ने बताएका थिए । उनले पोखरा विश्वविद्यालयले गण्डकी प्रदेशको विशेषता र सम्भावनाअनुसार साहसिक पर्यटनलगायतका नयाँ क्षेत्रमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

परीक्षा र नतिजा समयमै प्रकाशन गर्न, छात्रवृत्ति वितरणमा पूर्ण पारदर्शिता कायम गर्न तथा विद्यार्थीबाट लिइने शुल्कअनुसार प्रयोगशाला र पुस्तकालयजस्ता भौतिक सुविधा सुनिश्चित गर्न उनले विश्वविद्यालय प्रशासनलाई कडा निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट