Techie IT
२०८२ पौष १८, शुक्रबार

बारमा भीषण आगलागी हुँदा ४० को मृत्यु, ११५ घाइते


स्विट्जरल्यान्डको एक चर्चित स्की रिसोर्टमा रहेको बारमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने ११५ जना घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समयअनुसार बिहीबार बिहान करिब १ः३० बजे भालिस क्षेत्रको क्रान्स–मोन्टानास्थित ‘ली कन्स्टेलिसन’ नामक बारमा भीषण आगलागी भएको हो।

आगलागीपछि रातभर उद्धार कार्य सञ्चालन गरिएको थियो। आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ वटा एम्बुलेन्स तथा करिब १५० जना आपतकालीन उद्धारकर्मी परिचालन गरिएको भालिस क्षेत्रीय प्रशासनले जनाएको छ।

मृतक र घाइतेको यकिन संख्या अझै पनि पुष्टि हुन सकेको छैन। यद्यपि कम्तीमा ४० जनाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ। धेरैजना आगोमा जलेर गम्भीर घाइते भएका छन्।

भालिसको सियोन अस्पतालमा मात्रै ६० जना घाइते भर्ना गरिएको छ। तीमध्ये ‘धेरैजना अति गम्भीर अवस्थामा’ रहेको क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। गम्भीर घाइतेहरूलाई विशेष बर्न्स युनिट भएका लोजान, ज्युरिख र जेनेभाका अस्पतालमा स्थानान्तरण गरिएको छ।

लोजान युनिभर्सिटी अस्पतालमा २२ जना जलेका बिरामीको उपचार भइरहेको छ भने ज्युरिख युनिभर्सिटी अस्पतालमा १२ जनाको उपचार भइरहेको जनाइएको छ। केही घाइतेको उपचार जेनेभा युनिभर्सिटी अस्पतालमा पनि भइरहेको छ।

आगलागीमा विभिन्न देशका नागरिक प्रभावित भएका छन्। इटालीको विदेश मन्त्रालयका अनुसार १६ जना इटालियन नागरिक बेपत्ता छन् भने १२ देखि १५ जना अस्पतालमा उपचाररत छन्। तीन जना इटालियन नागरिकलाई मिलानको निघुवार्दा अस्पतालमा सारिँदैछ, जहाँ ठूलो बर्न्स युनिट रहेको छ। उनीहरूको शरीरको ३०–४० प्रतिशत भाग जलेको इटालियन काउन्सिलर गुइडो बर्तोलासोले बताएका छन्।

त्यस्तै, फ्रान्सको विदेश मन्त्रालयले आठ जना फ्रान्सेली नागरिक बेपत्ता रहेको जनाएको छ। मृतकमध्ये फ्रान्सेली नागरिक पनि हुन सक्ने सम्भावना नकार्न नसकिने मन्त्रालयको भनाइ छ। फ्रान्सेली सञ्चारमाध्यमले कम्तीमा दुई जना फ्रान्सेली नागरिक घाइते भएको उल्लेख गरेका छन्।

अधिकारीहरूले मृतकको पहिचान र घाइतेको उपचार गरी आफन्तलाई जिम्मा लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्। मृतक र घाइतेको पहिचान गर्न लामो समय लाग्न सक्ने जनाइएको छ। पीडित परिवारका लागि सहजीकरण गर्न +४१ ८४८ ११२ ११७ नम्बरको हेल्पलाइन सञ्चालनमा ल्याइएको छ।

बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आगलागीका बेला बारभित्र कति जना थिए भन्ने यकिन तथ्य उपलब्ध नभएको बताएका छन्। राज्य काउन्सिलर स्टेफान गान्जरका अनुसार नयाँ वर्षको पार्टीका कारण बारमा युवाहरूको ठूलो भीड थियो।

घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अटर्नी जनरल बियाट्रिस पिलुदले जानकारी दिइन्। चम्किने फ्लेयरसहितका स्याम्पेन बोतल वा साँघुरा सिँढीहरू आगलागीको कारण हुन सक्ने भन्ने हल्लाबारे सोधिएको प्रश्नमा उनले अनुसन्धान जारी रहेकाले हाल केही पुष्टि गर्न नसकिने बताइन्।

स्विट्जरल्यान्डका लागि इटालियन राजदूत जियान लोरेन्जो कोर्नादोले मृतकको पहिचान गर्न हप्तौँ लाग्न सक्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट