Techie IT
२०८२ पौष २१, सोमबार

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ पर्नुको कारण के हो ?


ल्याटिन अमेरिकाको राजनीतिमा अमेरिकाविरोधी धार सधैं कमजोर र क्षणिक मात्र हुने गरेको छैन । कहिलेकाहीँ यही धारले कुनै देशको सत्ता, नीति र राष्ट्रिय पहिचान नै निर्धारण गरेको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो यस्तै राजनीतिक धारबाट उदाएका नेता हुन्, जसको सम्पूर्ण राजनीतिक यात्रा अमेरिकी प्रभुत्व, हस्तक्षेप र दबाबको प्रतिरोधसँग गाँसिएको देखिन्छ ।

निकोलस मादुरो मोरोसको जन्म सन् १९६२ नोभेम्बर २३ मा राजधानी काराकासमा भएको थियो । मध्यम वर्गीय परिवारमा हुर्किएका उनी औपचारिक उच्च शिक्षाभन्दा बढी श्रमिक जीवन र आन्दोलनबाट राजनीतिक रूपमा परिपक्व बने । काराकास मेट्रोमा चालकका रूपमा काम गर्ने क्रममा उनी ट्रेड युनियन आन्दोलनमा सक्रिय भए । यही श्रमिक पृष्ठभूमिले सामाजिक असमानता, विदेशी प्रभुत्व र राज्यको भूमिकाबारे उनीभित्र गहिरो राजनीतिक चेत विकास गर्‍यो ।

चाभेजसँगको राजनीतिक यात्रा

१९९० को दशकमा ह्युगो चाभेज उदाएसँगै मादुरो उनको निकट बने । अमेरिका विरोधी, साम्राज्यवाद विरोधी र समाजवादी विचारधाराले मादुरोलाई राजनीतिक रूपमा अझ दृढ बनायो । यही चरणबाट उनी ‘बोलिभेरियन क्रान्ति’का प्रमुख अनुयायी बने । ह्युगो चाभेज भेनेजुएलामा अमेरिकी प्रभाव कमजोर पार्ने प्रमुख नेता मानिन्छन् । तेलजस्तो रणनीतिक स्रोतमा विदेशी नियन्त्रण घटाउने, सामाजिक कार्यक्रम विस्तार गर्ने र क्युबा, रुस तथा चीनसँग सम्बन्ध सुदृढ गर्ने नीतिले वासिङ्टन असन्तुष्ट बनेको थियो । यही राजनीतिक धरोहर मादुरोले बोक्नुपर्‍यो ।

चाभेजको शासनकालमै मादुरो विदेशमन्त्री बने । विदेशमन्त्रीका रूपमा उनले अमेरिकी विदेश नीतिको खुला आलोचना गर्दै भेनेजुएलाको सार्वभौमिकताको पक्षमा आवाज उठाए । यसले उनलाई अमेरिका विरोधी राजनीतिक धारको नेताका रुपमा स्थापित गरायो ।

राष्ट्रपति बनेपछि बढ्दो टकराव

सन् २०१३ मा चाभेजको निधनपछि मादुरो राष्ट्रपति बने । त्यसयता अमेरिका–भेनेजुएला सम्बन्ध झन् तनावपूर्ण बन्दै गयो । अमेरिकी प्रशासनले मादुरो सरकारलाई ‘अलोकतान्त्रिक’ भन्दै आर्थिक प्रतिबन्ध लगाउन थाल्यो । तेल व्यापार, बैंकिङ प्रणाली र अन्तर्राष्ट्रिय लेनदेनमा लगाइएका प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र गहिरो संकटमा फस्यो ।

मादुरो सरकारले भने यसलाई ‘आर्थिक युद्ध’को संज्ञा दिँदै संकटको मुख्य कारण अमेरिकी हस्तक्षेप भएको दाबी गर्दै आएको छ । यही भाष्यले उनका समर्थकहरूलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

मादुरो समाजवादी भाष्य बोकेका नेता हुन् । राज्यको बलियो भूमिका, सामाजिक सहायता कार्यक्रम र प्राकृतिक स्रोतमा सरकारी नियन्त्रण उनको राजनीतिक आधार हो । तर उनको शासनकालमा सत्ता केन्द्रित हुँदै गएको, विपक्षीमाथि दमन बढेको र चुनावी प्रक्रियामाथि प्रश्न उठेको तथ्य पनि नकार्न सकिँदैन । अमेरिका र उसका सहयोगीहरूले उनलाई अधिनायकवादी नेता भन्दै आलोचना गर्छन् । तर उनका समर्थकहरूका लागि यस्ता आरोप अमेरिकी हस्तक्षेपलाई वैधता दिने बहाना मात्र हुन् भन्ने गरेका छन्।

सन् २०१९ मा विपक्षी नेता हुआन ग्वाइडोलाई अमेरिका र केही पश्चिमी देशले ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुएलाको राजनीतिक संकट चरममा पुग्यो । मादुरो सरकारले यसलाई खुला रूपमा ‘कू’ प्रयास र सत्ता कब्जाको योजना भनेको थियो ।

त्यसयता भेनेजुएलामा कू प्रयास, भाडाका सैनिक प्रयोग गरेर मादुरोलाई अपदस्थ गर्ने योजना तथा तेल कम्पनी र विदेशी सम्पत्तिमाथि अमेरिकी नियन्त्रणको आरोप बारम्बार उठ्दै आएका छन् ।

मादुरोका लागि अमेरिका केवल आलोचक शक्ति होइन, देशको सार्वभौमिकतामाथि कब्जा गर्न खोज्ने शक्ति पनि हो । यही कथाले उनको सत्ता मात्र होइन, राजनीतिक अस्तित्व नै परिभाषित गरेको देखिन्छ ।

मादुरो केवल राष्ट्रपति मात्र होइनन् समर्थकका लागि उनी विदेशी प्रभुत्वविरुद्धको प्रतिरोधका प्रतीक हुन् । आलोचकका दृष्टिमा भने उनी असफल र दमनकारी शासकका रूपमा चित्रित छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको दाबी गरेका छन् । ट्रम्पले राजधानी काराकासमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गर्दै उक्त कारबाही अमेरिकाले गरेको बताएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट