Techie IT
२०८२ पौष २१, सोमबार

भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकाले पक्राउ गरेपछि कुन देशका प्रमुखले के भने ?


भेनेजुएलाले अमेरिकी आक्रमणबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ। भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने आवश्यकता औँल्याउँदै अमेरिकी कारबाहीको विरोध गरेका छन्।

छिमेकी मुलुक कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै भेनेजुएलाबाट हुन सक्ने ठूलो सङ्ख्यामा मानिसको आगमनको सम्भावनालाई ध्यानमा राखी सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्। कराकसमा प्रारम्भिक विस्फोटको खबर आएदेखि नै राष्ट्रपति पेत्रोले शान्ति र संवादको निरन्तर आह्वान गर्दै आएका छन्।

पेत्रोले अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्स (ओएएस) र संयुक्त राष्ट्रसङ्घको तत्काल बैठक बोलाउन आग्रह गरेका छन्। कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो स्थल सीमा रहेको छ। विगतमा दुवै देशमा देखिएका आर्थिक र सुरक्षा सङ्कटका कारण लाखौँ मानिसहरू एकअर्काका देशमा शरण लिन बाध्य भएका थिए।

भेनेजुएलाका निकट सहयोगी रुस र क्युबाले पनि अमेरिकी आक्रमणको कडा निन्दा गरेका छन्। रुसले अमेरिकी सैन्य कारबाहीलाई ‘निकै चिन्ताजनक’ भनेको छ भने क्युबाका राष्ट्रपति मिगेल डियाज–कनेलले अमेरिकाले भेनेजुएलामाथि ‘आपराधिक आक्रमण’ गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायको तत्काल प्रतिक्रिया माग गरेका छन्।

युरोपेली सङ्घ (ईयू) ले संयम अपनाउन आह्वान गरेको छ। स्पेनले शान्तिपूर्ण समाधान खोज्न मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको संकेत दिएको छ। जर्मनी र इटालीले अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएका छन्।

यसैबीच बेलायती प्रधानमन्त्री किअर स्टार्मरले भेनेजुएलामा भएको अमेरिकी कारबाहीमा बेलायत ‘कुनै पनि हिसाबले संलग्न नभएको’ स्पष्ट पारेका छन्। राष्ट्रपति निकोलास मदुरोको पक्राउसम्बन्धी विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफूले कुनै संवाद नगरेको पनि उनले बताएका छन्।

‘यो तीव्र गतिमा विकसित भइरहेको अवस्था हो। सबै तथ्यहरू स्थापित गर्न आवश्यक छ,’ स्टार्मरले भने, ‘यस कारबाहीमा बेलायत संलग्न छैन।’

भेनेजुएलामा देखिएको अभूतपूर्व अवस्थाको प्रत्यक्ष प्रभाव धेरै देशमा पर्न सक्ने भए पनि त्यसको मुख्य असर कोलम्बियामा पर्ने अनुमान गरिएको छ। अमेरिकी आक्रमणपछि भेनेजुएलाली शरणार्थीहरूको सम्भावित ठूलो आगमनलाई मध्यनजर गर्दै बोगोटामा समेत तयारी भइरहेको बताइएको छ।

यसैबीच अर्जेन्टिनाका राष्ट्रपति खाभिएर मिलेले अमेरिकी हस्तक्षेपको स्वागत गरेका छन् भने चिलेका राष्ट्रपति ग्याब्रिएल बोरिकले अमेरिकी सैन्य कारबाहीप्रति ‘चिन्ता र निन्दा’ व्यक्त गरेका छन्। इरानको विदेश मन्त्रालयले पनि उक्त आक्रमणलाई भेनेजुएलाको राष्ट्रिय सार्वभौमिकताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट