Techie IT
२०८२ माघ २४, शनिबार

ट्रम्पले ओबामा दम्पतीलाई बाँदर देखाइएको भन्दै तीव्र आलोचना


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआइबाट सिर्जित विवादास्पद भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि हटाएका छन्। शुक्रबार ट्रम्पको ट्रुथ सोसल अकाउन्टबाट सार्वजनिक गरिएको उक्त भिडियो करिब १२ घन्टापछि हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

एक मिनेट लामो एआइ भिडियोको अन्तिम भागमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी श्रीमती मिशेल ओबामालाई बाँदरका रूपमा देखाइएको दृश्य समावेश गरिएको थियो। भिडियोमा ट्रम्पलाई सिंहका रूपमा चित्रण गरिएको थियो भने डेमोक्र्याटहरूलाई उनका सहयोगी पात्रझैँ प्रस्तुत गरिएको देखिन्छ।

भिडियोको अन्त्यतिर ओबामा दम्पतीको टाउको जोडेर बाँदर नाचिरहेको जस्तो देखिने दृश्य देखाइएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना चर्किएको थियो। ट्रम्पको जातिवादी सोच झल्किने भन्दै आलोचना बढेपछि उक्त भिडियो हटाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

नागरिक अधिकारसम्बन्धी संस्थाहरूले ट्रम्पको अभिव्यक्तिलाई कडा शब्दमा निन्दा गरेका छन्। एनएएसीपीका अध्यक्ष डेरिक जोनसनले भने, “यो भिडियो खुला रूपमा जातीय विभेदपूर्ण र घृणास्पद छ।”

रिपब्लिकन पार्टीभित्रैबाट पनि आलोचना भएको छ। केही सांसदहरूले ट्रम्पलाई माफी माग्दै पोस्ट हटाउन आग्रह गरेका थिए भने ह्वाइट हाउसमै सम्पर्क गरेर भिडियोबारे चासो व्यक्त गरिएको थियो।

ट्रम्पले भने उक्त भिडियो आफूले नभई सचिवालयबाट पोस्ट भएको दाबी गरेका छन्। उनले भिडियोप्रति निन्दा व्यक्त गर्दै कर्मचारीको त्रुटिका कारण सार्वजनिक भएको र तुरुन्तै हटाइएको ह्वाइट हाउसका एक अधिकारीले बताएका छन्। ती कर्मचारीको पहिचान भने सार्वजनिक गरिएको छैन।

यसअघि ह्वाइट हाउसकी प्रवक्ता क्यारोलाइन लेभिटले आलोचनालाई “नक्कली आक्रोश” भन्दै पोस्टको बचाउ गरेकी थिइन्।

ट्रम्पले आफूले भिडियोको सुरुको भाग मात्र हेरेको र अन्तिम दृश्य नदेखेको दाबी गरेका छन्। ‘मैले चुनावी मेसिनसम्बन्धी धाँधलीको दाबी गरिएको अंश मात्रै देखें,’ उनले भने, ‘त्यसपछि सहयोगीहरूलाई पोस्ट गर्न दिएको हुँ।’

ओबामा पक्षका प्रवक्ताले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

ट्रम्पका निकट सहयोगी तथा अश्वेत रिपब्लिकन सिनेटर टिम स्कटले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, ‘यो नक्कली होस् भनेर प्रार्थना गरिरहेको छु, किनकि ह्वाइट हाउसबाट आएको यो सबैभन्दा जातीय विभेदपूर्ण कुरा हुनेछ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट