आगामी डिसेम्बरमा हुने जी–२० मा पुटिनलाई निम्तो दिने ट्रम्पको तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बरमा मायामीमा हुने जी–२० शिखर सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लाई निम्तो दिने तयारी गरेका छन्।
ट्रम्पको डोरल गल्फ रिसोर्टमा आयोजना हुने उक्त सम्मेलनका लागि औपचारिक निमन्त्रणा अझै पठाइएको छैन। तर, पुटिनलाई निम्तो दिने तयारी भइरहेको विषयमा द वाशिङटन पोस्टले समाचार प्रकाशित गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सफल र फलदायी शिखर सम्मेलन आयोजना गर्ने दिशामा अमेरिका केन्द्रित रहेको उल्लेख गर्दै रूसलाई जी–२० का सबै बैठकहरूमा स्वागत रहने स्पष्ट पारिएको छ। एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै वाशिङटन पोस्टले लेखेअनुसार, “अहिलेसम्म औपचारिक निमन्त्रणा जारी गरिएको छैन, तर रूस जी–२० को सदस्य भएकाले मन्त्रिस्तरीय बैठक र शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिनेछ।”
जी–२० विश्वका १९ ठूला अर्थतन्त्र, युरोपेली संघ र अफ्रिकी संघ सम्मिलित अन्तरसरकारी मञ्च हो, जसले हरेक वर्ष विश्वका प्रमुख मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्छ। रूसले सन् २०१९ यता शिखर सम्मेलनमा उच्चस्तरीय सहभागिता जनाएको छैन। सुरुआतमा कोभिड–१९ महामारी र पछि सन् २०२२ मा युक्रेन माथि गरेको आक्रमणपछि पुटिन सहभागी हुन सकेका थिएनन्।
यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालत ले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ, जसमा युक्रेन युद्धका क्रममा युद्ध अपराधको आरोप लगाइएको छ।
पश्चिमा देशहरूले पुटिनलाई अन्तर्राष्ट्रिय रूपमा बहिस्कार गर्दै आएका बेला ट्रम्पले भने गत वर्ष अलास्का मा उनीसँग युक्रेन युद्ध अन्त्यबारे वार्ता गरेका थिए।
यसअघि ट्रम्पले दक्षिण अफ्रिका मा आयोजित जी–२० शिखर सम्मेलन बहिस्कार गरेका थिए। तर यस वर्ष अमेरिका स्वयं आयोजक भएका बेला युद्ध अपराधको आरोप खेपिरहेका पुटिनलाई निम्तो दिने तयारीले विश्व राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस