महँगीभन्दा कम ब्याजदरले घट्दै छ बैंकमा जम्मा गरेको पैसाको मूल्य
“भोलिका लागि बचत गरौँ” भन्ने वित्तीय चेतनालाई पछिल्लो समयको न्यून ब्याजदर र बजारको उच्च मूल्यवृद्धिले गम्भीर चुनौती दिन थालेको छ। बैंकमा पैसा राखेर भविष्य सुरक्षित गर्ने सर्वसाधारणले पाउने ब्याजदर मुद्रास्फीतिभन्दा तल झरेपछि निक्षेपकर्ताको पैसाको वास्तविक मूल्य निरन्तर घटिरहेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ५.९६ प्रतिशत पुगेको छ। तर, यसको तुलनामा वाणिज्य बैंकहरूको बचत निक्षेपको भारित औसत ब्याजदर २.७३ प्रतिशत र मुद्दती निक्षेपको औसत ब्याजदर ४.७३ प्रतिशतमा सीमित छ। समग्र निक्षेपको भारित औसत ब्याजदर ३.१५ प्रतिशत मात्र रहेको छ।
बचतकर्ताले पाउने नाममात्रको ब्याजदर मुद्रास्फीतिभन्दा कम हुँदा अर्थशास्त्रमा यसलाई ‘ऋणात्मक वास्तविक ब्याजदर’ भनिन्छ। उदाहरणका लागि, एक वर्षअघि बैंकमा राखेको १ लाख रुपैयाँमा सामान्य ब्याज जोडिएर रकम बढे जस्तो देखिए पनि बजारको ५.९६ प्रतिशतको महँगीका कारण त्यसबाट खरिद गर्न सकिने वस्तु तथा सेवाको वास्तविक मात्रा भने घटेको छ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता र निजी क्षेत्रबाट कर्जाको कमजोर मागका कारण निक्षेप र कर्जाको ब्याजदर दुवै घटेका छन्। सस्तो कर्जाले व्यवसाय विस्तारमा सहयोग पुर्याए पनि ब्याज आम्दानीमा निर्भर ज्येष्ठ नागरिक, अवकाशप्राप्त व्यक्ति र साना बचतकर्ताको आम्दानीमा यसले प्रतिकूल असर पारेको छ।
यदि लामो समयसम्म वास्तविक प्रतिफल ऋणात्मक रह्यो भने बचतकर्ताहरू सुन, घरजग्गा वा अनौपचारिक वित्तीय कारोबारजस्ता उच्च जोखिमयुक्त तथा वैकल्पिक क्षेत्रतर्फ आकर्षित हुने जोखिम बढाएको छ। यसले औपचारिक वित्तीय प्रणालीमा निक्षेप आकर्षण कमजोर पार्नुका साथै समग्र बचत संस्कृतिमाथि नै दबाब सिर्जना गरेको छ।
विशेषज्ञहरूले अर्थतन्त्रलाई चलायमान बनाउन ब्याजदर सन्तुलित हुनुपर्ने औंल्याएका छन्। कर्जालाई सस्तो बनाउने क्रममा निक्षेपकर्ताको क्रयशक्ति र वित्तीय स्थायित्वमा परेको असरलाई सम्बोधन गर्न नीतिनिर्माताहरूले लगानीको वातावरण सुधार तथा उत्पादनशील क्षेत्रमा कर्जा विस्तारका वैकल्पिक उपायहरू समेत सँगै लैजानुपर्ने आवश्यकता देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस