Techie IT
२०८३ जेष्ठ ९, शनिबार

इरान–अमेरिका वार्ताबीच तेहरान पुगे पाकिस्तानी सेना प्रमुख मुनिर, क्षेत्रीय कूटनीतिमा नयाँ तरंग


इरान र अमेरिकाबिच जारी कूटनीतिक वार्तालाई लिएर मध्यपूर्वी क्षेत्रमा सरगर्मी बढिरहेका बेला पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर शुक्रबार इरानको राजधानी तेहरान पुगेका छन्। पाकिस्तानी सरकारी सञ्चारमाध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै भ्रमणको पुष्टि गरेका हुन्।

फिल्ड मार्सल असिम मुनिरको यस भ्रमणलाई क्षेत्रीय सुरक्षा, इरान–अमेरिका सम्बन्ध र मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।

बिबिसी उर्दुका अनुसार मुनिरले तेहरानमा इरान–अमेरिका वार्ता, क्षेत्रीय शान्ति सुरक्षा तथा अन्य रणनीतिक विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ। उनी यसअघि पनि गत अप्रिल १८ मा तेहरान भ्रमणमा पुगेका थिए।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्विडेनमा पत्रकारहरूसँग कुरा गर्दै मुनिरको भ्रमणबारे जानकारी दिएका छन्। उनले आफू मुनिरसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै इरानसँग छिट्टै कुनै न कुनै सहमति हुनेमा आशावादी रहेको बताएका छन्।

इरानले पनि अमेरिकासँगको वार्ता प्रक्रियालाई तीव्र बनाउँदै आफ्नो कूटनीतिक टोलीलाई सक्रिय पारेको छ। वार्ता टोलीका प्रमुख मोहम्मद बकिर कालिबाफले इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईलाई वार्ता टोलीको आधिकारिक प्रवक्ता नियुक्त गरेका छन्। बाकाई यसअघि इस्लामाबादमा सम्पन्न इरान–अमेरिका वार्ताको पहिलो चरणमा पनि सहभागी थिए।

यता, पाकिस्तानका गृहमन्त्री पनि हाल इरान भ्रमणमै रहेका छन्। पछिल्ला दुई दिनदेखि दुवै देशका उच्च अधिकारीहरूबिच गम्भीर कूटनीतिक छलफल भइरहेको बताइएको छ।

फारस न्यूज एजेन्सीका अनुसार वार्ताको मुख्य उद्देश्य इरान र अमेरिकाबिच कायम मतभेद कम गर्ने सम्भावित प्रस्तावहरूबारे सहमति खोज्नु रहेको छ।

इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समार्फत जारी वार्ताबाट केही सकारात्मक सङ्केत प्राप्त भएको बताएका छन्। तर, इरानको युरेनियम भण्डारण र स्ट्रेट अफ हर्मोज माथिको नियन्त्रणजस्ता संवेदनशील विषयमा अझै पनि सहमति जुट्न नसकेको उनले स्पष्ट पारेका छन् । तनावपूर्ण अवस्थाबीच पनि वार्ता प्रक्रियाप्रति आफू आशावादी रहेको अरागचीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट