Techie IT
२०८३ असोज १०, शनिबार

ट्रम्पको धम्कीपछि इरानको यूटर्न, एक साताभित्रै स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव


इरानले अमेरिकालाई एक साताभित्रै रणनीतिक महत्त्वको 'स्ट्रेट अफ होर्मुज' जलमार्ग खोल्ने प्रस्ताव अघि बढाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै ‘आवश्यक सर्तहरू पूरा भएमा’ यो जलमार्ग पुनः सञ्चालनमा ल्याउन सकिने बताएका छन्।

उनका अनुसार यसअघि नै हस्ताक्षर भइसकेको समझदारी पत्र (एमओयू) का आधारमा यो योजना कतारमार्फत अमेरिकालाई बुझाइइसकेको छ। अराघचीले कडा सब्दमा भने, “अब यसको छनोट र निर्णय गर्ने जिम्मा अमेरिकाको हातमा छ। यदि अमेरिकी पक्षमा सम्झौतामा पुग्न र जलमार्ग खोल्ने विषयमा गम्भीरता छ भने अहिले सबै कुरा तयार छ।”

यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी तथा इजरायली अखडाहरूका साथै खाडीका अरब सहयोगी राष्ट्रहरूमाथि आक्रमण गर्दै स्ट्रेट अफ होर्मुज बन्द गराएको थियो।

युद्धअघि विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही जलमार्ग भएर आपूर्ति हुने गर्दथ्यो। यो नाका बन्द हुँदा विश्व बजारमा ऊर्जाको मूल्यमा ठूलो उतारचढाव आएको छ, जसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरको कंग्रेस चुनावअघि नै द्वन्द्व अन्त्य गर्न दबाब बढाएको छ।

यता, इरानको प्रस्तावबारे प्रतिक्रिया दिँदै एक अमेरिकी अधिकारीले मध्यस्थकर्ताहरूमार्फत आणविक लगायतका विषयमा सकारात्मक कुराकानी भइरहेको बताएका छन्। तर, अमेरिका स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रणसहित बलियो स्थितिमा रहेकाले आफूहरू हतारमा नरहेको उनको भनाइ छ।

यसै साता संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानविरुद्ध कडा धम्की दोहोर्‍याएका छन्। उनले भनेका थिए, “के म इस्लामिक गणतन्त्रलाई छिट्टै नामेट पारिदिऊँ र उनीहरूलाई फेरि विनाश गर्ने मौका नदिऊँ?”

ट्रम्पको यस्तो कडा धम्कीको खण्डन गर्दै विदेशमन्त्री अराघचीले इरानले कुनै पनि किसिमको “दबाब, धम्की वा तर्साउने प्रवृत्ति” स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले विनाशको धम्कीबाट कहिल्यै पनि स्थायी शान्ति स्थापना हुन नसक्ने चेतावनी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट