Techie IT
२०८३ जेष्ठ १०, आइतबार

इरानसँगको युद्ध अन्त्य गर्ने ऐतिहासिक सम्झौता अन्तिम चरणमा रहेको ट्रम्पको दाबी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ तयार पारिएको प्रारम्भिक सम्झौता निष्कर्षको अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

आइतबार एक घोषणा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिका, इरान र मध्यस्थकर्ता राष्ट्रहरूबीच वार्ताका अधिकांश मुख्य विषयहरूमा सहमति भइसकेको र अब सम्झौतालाई अन्तिम रूप दिन मात्र बाँकी रहेको बताएका हुन्।

यो कूटनीतिक सफलतामा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरको तेहरान भ्रमणले महत्त्वपूर्ण भूमिका खेलेको मानिएको छ। अमेरिका-इरान युद्धविराम गम्भीर मोडमा पुगेका बेला युद्ध रोक्ने अन्तिम प्रयत्नका लागि मुनिर तेहरान पुगेर त्यहाँको राजनीतिक तथा सैन्य नेतृत्वसँग सघन छलफल गरेका थिए।

"अमेरिका, इरान र मध्यस्थकर्ता राष्ट्रहरूबीच अधिकांश सर्तहरूमा सहमति भइसकेको छ। सम्झौताको अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ," राष्ट्रपति ट्रम्पले भनेका छन्।

'स्ट्रेट अफ हर्मुज' खुलाउने र प्रतिबन्ध फुकुवा गर्ने रणनीति
‘वालस्ट्रिट जर्नल’का अनुसार यस प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य तत्काल युद्ध रोक्ने, अस्थायी कूटनीतिक संयन्त्र स्थापना गर्ने र विश्व तेल आपूर्तिको लाइफलाइन मानिने 'स्ट्रेट अफ हर्मुज' (Hormuz Strait) जलमार्गलाई पुनः सञ्चालनमा ल्याउनु हो।

प्रस्तावित खाकाअनुसार सम्झौता कार्यान्वयनका लागि सुरुमा ३० दिनको प्रारम्भिक वार्ता अवधि तोकिएको छ, जसलाई आवश्यकता अनुसार थप एक महिना बढाउन सकिनेछ। 

सम्झौताअन्तर्गत इरानले स्ट्रेट अफ हर्मुजलाई अस्थायी रूपमा खोल्नेछ र युद्धविरामका लागि अनुकूल वातावरण बनाउने छ भने अमेरिकाले त्यसको बदलामा इरानमाथि लगाइएका केही आर्थिक प्रतिबन्धहरू खुकुलो पार्नेछ र वार्ता अवधिभर समुद्री मार्गमा कुनै अवरोध नहुने ग्यारेन्टी दिनेछ।

यद्यपि, यो अझै प्रारम्भिक रूपरेखा मात्र भएकाले पूर्ण र अन्तिम सहमतिका लागि दुवै पक्षबीच विस्तृत प्राविधिक वार्ता जारी रहनेछ।

युरेनियम भण्डार त्याग्न इरान राजी, इसराइल असन्तुष्ट
‘न्युयोर्क टाइम्स’का अनुसार यस प्रस्तावित सम्झौताको सबैभन्दा ठूलो उपलब्धि इरान आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्न प्रारम्भिक रूपमा सहमत हुनु हो। अमेरिकी अधिकारीहरूका अनुसार इरानसँग हाल ६० प्रतिशतसम्म प्रशोधन गरिएको करिब ४०० किलो युरेनियम रहेको अनुमान छ।

यो युरेनियम भण्डारलाई कसरी हस्तान्तरण गर्ने वा नष्ट गर्ने भन्ने प्राविधिक र संवेदनशील विषय भने अझै टुंगिन बाँकी छ। अमेरिकी अधिकारीहरूले यसै मुद्दालाई सम्झौताको सबैभन्दा निर्णायक बिन्दु मानेका छन्।

यसैबीच, यो सम्झौतालाई लिएर मध्यपूर्वमा अमेरिकाको मुख्य सहयोगी इसराइलमा भने तीव्र चासो र चिन्ता बढेको छ। वार्ताको प्रत्यक्ष पक्ष नरहेको इसराइलले सम्झौताबारे अन्तिम चरणमा मात्र जानकारी पाएको भन्दै अमेरिकी कदमप्रति असन्तुष्टि जनाएको स्रोतहरूको दाबी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट