Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

हर्मुज क्षेत्रमा फेरि अमेरिकी हमला, इरान–अमेरिका तनाव चुलियो


अमेरिकाले इरानमाथि पुनः सैन्य आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गएराति दक्षिणी इरानका सैन्य संरचनालाई लक्षित गर्दै अमेरिकी सेनाले हवाई हमला गरेको हो।

अमेरिकाले हर्मुज जलडमरूमध्य नजिक आफ्ना सैनिक तथा व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनामाथि कारबाही गरेको जनाएको छ। एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले इरानबाट उडाइएका केही ड्रोन पनि अमेरिकी सेनाले खसालेको उल्लेख गरेको छ।

अमेरिकी दाबीअनुसार ती ड्रोनले अमेरिकी सैन्य फौज र हर्मुज हुँदै सञ्चालन हुने सीमित व्यावसायिक जहाज आवागमनमा खतरा उत्पन्न गरेका थिए। अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ खसालेपछि पाँचौँ ड्रोन उडाउनुअघि बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरेको बताइएको छ।

द न्युयोर्क टाइम्सका अनुसार बिहीबार बिहान बन्दर अब्बास क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन्। इरानले शहरको पूर्वी क्षेत्रमा तीनवटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ।

यो तीन दिनभित्र अमेरिकाले गरेको दोस्रो सैन्य कारबाही हो। यसअघि सोमबार पनि अमेरिकाले बारुदी सुरुङ बिछ्याउन खोजिएका डुंगा र मिसाइल प्रक्षेपणस्थललाई लक्षित गर्दै “रक्षात्मक कारबाही” गरेको दाबी गरेको थियो। तर इरानले अमेरिकी कदमलाई दुई देशबीच कायम कमजोर युद्धविरामको गम्भीर उल्लंघन भनेको छ।

तीन महिनादेखि जारी अमेरिका–इरान तनाव अन्त्य गर्न कतारमार्फत अप्रत्यक्ष वार्ता भइरहेका बेला पछिल्ला सैन्य गतिविधि सार्वजनिक भएका हुन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि युद्ध थप चर्किएको थियो।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा हर्मुज जलडमरूमध्यको व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी दाबी अस्वीकार गरेका छन्। उनले उक्त जलमार्ग खुला रहने बताएका छन्।

अमेरिकी अनलाइन एक्सियसका अनुसार अमेरिका र इरानबीच ६० दिनको अस्थायी समझदारीपत्रमा सहमति नजिक पुगेको छ। प्रस्तावित समझदारीअनुसार इरानले हर्मुज क्षेत्रमा बिछ्याइएका सामुद्रिक बम हटाउने र जहाज आवागमन सहज बनाउनेछ भने अमेरिकाले केही आर्थिक प्रतिबन्ध खुकुलो पार्ने तयारी गरेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट