Techie IT
२०८३ जेष्ठ २२, शुक्रबार

जेलेन्स्कीको पुटिनलाई खुला पत्र, युद्ध अन्त्यका लागि आमनेसामने संवादको प्रस्ताव


युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई खुला पत्र लेख्दै युक्रेन–रुस युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ता गर्न प्रस्ताव गरेका छन्।

युरोपमा जारी युद्धप्रति अमेरिकाको ध्यान पुनः केन्द्रित हुने प्रतीक्षामा बस्नु उपयुक्त नहुने उल्लेख गर्दै जेलेन्स्कीले दुवै देशबीचको आमनेसामने संवादबाट मात्रै दिगो शान्तिको बाटो खुल्ने बताएका छन्। उनले वार्ता सम्पन्न नभएसम्म पूर्ण युद्धविराम लागू गर्नसमेत आग्रह गरेका छन्। यद्यपि, रुसी राष्ट्रपति पुटिनले यसअघि युद्धविरामको सम्भावनालाई अस्वीकार गरिसकेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुनु “उत्कृष्ट कदम” हुने प्रतिक्रिया दिएका छन्। क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइने जनाएको छ।

जेलेन्स्कीको पत्रमा कूटनीतिक प्रस्तावसँगै व्यङ्ग्यात्मक टिप्पणी पनि समावेश छ। हालै युक्रेनले रुसी भूमिमा गरेका आक्रमणहरूको प्रसंग उल्लेख गर्दै उनले लेखेका छन्, “२६ वर्षसम्म सत्तामा रहँदा पुटिनमाथि उमेरको प्रभाव देखिन थालेको छ।”

यद्यपि, उनले स्पष्ट रूपमा वार्ताको प्रस्ताव राख्दै लेखेका छन्, “युक्रेन प्रत्यक्ष संवादमार्फत यो युद्ध अन्त्य गर्न चाहन्छ। म बैठकको प्रस्ताव गर्दछु।”

यो प्रस्ताव भने नयाँ होइन। यसअघि पनि जेलेन्स्कीले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। त्यसबेला जस्तै यसपटक पनि क्रेमलिनले उनलाई मस्को आएर पुटिनसँग भेट्न स्वागत रहेको प्रतिक्रिया दिएको छ।

पत्रमा जेलेन्स्कीले पहिलोपटक सार्वजनिक रूपमा अमेरिकाको ध्यान हाल युरोपको युद्धभन्दा इरानतर्फ बढी केन्द्रित रहेको स्वीकार गरेका छन्। उनले लेखेका छन्, “युरोपको युद्ध फेरि अमेरिकाको प्राथमिकतामा नपरुन्जेल हात बाँधेर बस्नु गलत हुनेछ।”

उता, सेन्ट पिटर्सबर्गमा विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँग कुरा गर्दै रुसी राष्ट्रपति पुटिनले आफू युक्रेनसँग सम्झौता गर्न “निश्चित रूपमा तयार र इच्छुक” रहेको बताएका छन्। तर, त्यसका लागि दुवै पक्षले सम्झौताका सर्तहरूमा लचकता अपनाउनुपर्ने उनको भनाइ छ।

युद्ध चर्किँदै गएको अवस्थामा जेलेन्स्कीको यो प्रस्तावले कूटनीतिक समाधानको सम्भावनालाई पुनः चर्चामा ल्याएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट