Techie IT
२०८३ असार २४, बुधबार

आयात ह्वात्तै बढेपछि अमेरिका दबाबमा, मे महिनामा व्यापार घाटा ७७.६ अर्ब डलर


आयातमा भएको उल्लेख्य वृद्धिका कारण मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षभन्दा बढी समययताकै उच्च स्तरमा पुगेको छ। सम्भावित नयाँ भन्सार महसुल (ट्यारिफ) लागू हुनुअघि नै विभिन्न व्यवसायहरूले अग्रिम रूपमा आयात बढाएका कारण यो स्थिति सृजना भएको विश्लेषकहरूले बताएका छन्।

अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मे महिनामा व्यापार घाटा अघिल्लो महिनाको तुलनामा ४२.२ प्रतिशतले बढेर ७७.६ अर्ब अमेरिकी डलर पुगेको छ।

समीक्षा अवधिमा अमेरिकी आयात ३.३ प्रतिशतले बढेर ३९५.३ अर्ब डलर पुगेको छ। यसको विपरीत निर्यातमा भने ३.२ प्रतिशतको गिरावट आउँदै ३१७.७ अर्ब डलरमा सीमित भएको छ।

विश्लेषकहरूका अनुसार बजारमा कम्प्युटर उपकरण, सेमिकन्डक्टर तथा कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी हार्डवेयरको माग तीव्र बनेपछि पुँजीगत वस्तुको आयात उल्लेख्य रूपमा बढेको हो। यसका साथै उपभोक्ता वस्तुतर्फ औषधिजन्य सामग्रीको आयातमा पनि ठूलो वृद्धि देखिएको छ।

अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री ग्रेस ज्विमरका अनुसार आगामी जुलाई अन्त्यदेखि लागू हुने प्रस्तावित उच्च भन्सार महसुलबाट बच्न व्यवसायीहरूले औषधिजन्य सामग्री लगायतका वस्तुहरू पहिले नै भण्डारण गर्ने रणनीति लिएका छन्। यही 'एडभान्स' आयातका कारण व्यापार घाटा चुलिएको हो।

यसका साथै अमेरिकी घरेलु बजारमा माग बलियो रहनु र भन्सार महसुल वृद्धि हुनुअघि नै सामान भित्र्याउने कर्पोरेट रणनीतिले आयात बढाउन मुख्य भूमिका खेलेको विश्लेषकहरूको ठहर छ।

यसैबीच, मध्यपूर्वमा उत्पन्न तनावका क्रममा अमेरिकी कच्चा तेल तथा पेट्रोलियम पदार्थको निर्यातमा केही समय उछाल आएको थियो। तर, अमेरिका र इरानबीचको नयाँ समझदारीपछि होर्मुज जलसन्धिमा ढुवानी क्रमशः सामान्य बन्दै गएको छ। यसले गर्दा अमेरिकी पेट्रोलियम निर्यात पुनः युद्धपूर्वको नियमित अवस्थातर्फ फर्किन थालेको अर्थशास्त्रीहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट