मध्यपूर्वमा थप तनाव: इरानतर्फ अघि बढेको कार्गो जहाजमा अमेरिकी मिसाइल प्रहार
इरानतर्फ जान खोजेको आरोपमा अमेरिकी सेनाले पानामाको झन्डाबाहक कार्गो जहाज ‘भेला नोभा’ माथि दुईवटा हेलफायर मिसाइल प्रहार गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानको नाकाबन्दी तोडेर ओमानको खाडी हुँदै इरानी बन्दरगाहतर्फ अघि बढेको जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि बेवास्ता गरेपछि उक्त कारबाही गरिएको हो। मिसाइल प्रहारबाट जहाजको इन्जिन र स्टियरिङ प्रणालीमा क्षति पुगी यसलाई अघि बढ्नबाट रोकिएको छ। आक्रमणमा चालक दलका सदस्यहरूलाई भएको क्षतिबारे आधिकारिक विवरण आइसकेको छैन।
सेन्टकमका अनुसार इरानको नाकाबन्दी तोडेर अघि बढेका ५५ वटा व्यावसायिक जहाजलाई बाटो परिवर्तन गर्न लगाइएको छ भने तीनवटा जहाज निष्क्रिय पारिएका छन् र दुईवटालाई अमेरिकी सैनिकले नियन्त्रणमा लिएका छन्। अमेरिका र इरानबीचको युद्ध तथा तनाबका बीच यो घटना घटेको हो।
इरानले अमेरिकाले आफ्नो व्यवहार र नाकाबन्दी अन्त्य नगरेसम्म तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा नगरेसम्म रणनीतिक रूपमा अति महत्त्वपूर्ण 'स्ट्रेट अफ होर्मुज' नखोल्ने अडान लिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले माग पूरा नभएसम्म यो जलमार्ग बन्द रहने प्रष्ट पारेका छन्। विश्वको समुद्री इन्धन व्यापारको ठूलो हिस्सा यही जलमार्गबाट हुने गर्छ।
यसैबीच, कतारको मध्यस्थतामा ओमान र इरानबीच होर्मुजबाट व्यावसायिक जहाजको आवतजावत पुनः सुरु गर्ने विषयमा महत्त्वपूर्ण वार्ता भइरहेको छ। पूर्वअमेरिकी कूटनीतिज्ञ एलन एरका अनुसार दुई देशले ६० दिनका लागि अस्थायी रूपमा जहाज आवतजावत व्यवस्थापन गर्ने योजनामा सहमति नजिक पुगेका छन्, जसका लागि अमेरिकी सहमति आवश्यक पर्नेछ। यसै क्रममा युद्ध रोक्न र जलमार्ग खुलाउन पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले तेहरान पुगी इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघ्चीसँग भेटवार्ता गरेका छन्।
उता, यमनका हुथी विद्रोहीहरूले 'बाब अल–मन्देब' जलडमरूमध्यमा साउदीको सैन्य सामग्री बोकेको जहाजलाई लक्षित गरेको दाबी गरेका छन्। तटरक्षक बलका अनुसार यस आक्रमणमा एक व्यावसायिक जहाजमा सवार ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
यसैगरी, संयुक्त राष्ट्रसंघले कब्जामा रहेको पश्चिम किनारामा अवस्था गम्भीर बन्दै गएको जनाउँदै यस वर्ष अहिलेसम्म ७६ जना प्यालेस्टिनी (१८ बालबालिकासहित) मारिएको चेतावनी दिएको छ। यता, इजरायली सेनाले दक्षिणी लेबनानमा आफ्नै सैन्य गतिविधिमा गल्तीवश इन्टरसेप्टर प्रक्षेपण भएको स्वीकार गरेको छ, जसमा मानवीय क्षति भने भएको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस