चीन–अष्ट्रेलियाबीच मुद्रा विनिमय सम्झौता नवीकरण, २२० अर्ब युआन पुग्यो सीमा
चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना (पीबीओसी) र रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) बीचको द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता (करन्सी स्वाप) थप पाँच वर्षका लागि नवीकरण भएको छ। सम्झौताको अधिकतम सीमा पनि बढाएर २२० अर्ब युआन (करिब ४६ अर्ब अष्ट्रेलियाली डलर) पुर्याइएको छ।
पीबीओसीले बुधबार सार्वजनिक गरेको जानकारी अनुसार यसअघि सम्झौताको अधिकतम सीमा २०० अर्ब युआन (करिब ४१ अर्ब अष्ट्रेलियाली डलर) थियो। नयाँ सम्झौता पाँच वर्षका लागि लागू हुनेछ र दुवै पक्षको सहमतिमा थप अवधि बढाउन सकिनेछ।
पीबीओसीका अनुसार सम्झौताको नवीकरण र सीमा विस्तारले चीन र अष्ट्रेलियाबीचको मौद्रिक तथा वित्तीय सहकार्य थप मजबुत बनाउनेछ। साथै, यसले दुई देशबीचको व्यापार तथा लगानीलाई सहज बनाउन र वित्तीय बजारको स्थिरता कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
आरबीएका अनुसार आवश्यक परेको अवस्थामा सम्झौताअन्तर्गत दुवै केन्द्रीय बैंकले तोकिएको सीमाभित्र एकअर्काको स्थानीय मुद्रा विनिमय गर्न सक्नेछन्। यस्तो व्यवस्थाले विशेषगरी वित्तीय बजारमा दबाब वा अस्थिरता उत्पन्न भएका बेला स्थानीय मुद्रामा व्यापारिक भुक्तानी व्यवस्थापनका लागि आवश्यक तरलता उपलब्ध गराउन सहयोग गर्छ।
स्थानीय मुद्रा विनिमय सम्झौताले चीन र अष्ट्रेलियाबीचको व्यापारमा युआन र अष्ट्रेलियाली डलरमै प्रत्यक्ष कारोबार तथा भुक्तानी गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसबाट अमेरिकी डलरलाई मध्यस्थ मुद्रा बनाउँदा उत्पन्न हुने विनिमय दरको जोखिम र रूपान्तरण लागत घटाउन सकिने चिनियाँ विज्ञहरूले बताएका छन्।
चीन र अष्ट्रेलियाबीच सन् २०१२ मा पहिलोपटक यस्तो मुद्रा विनिमय व्यवस्था स्थापना भएको थियो। त्यसयता सम्झौता नियमित रूपमा नवीकरण हुँदै आएको छ। पछिल्लोपटक सन् २०२१ को जुलाईमा पाँच वर्षका लागि नवीकरण गरिएको थियो। यसपटकको नवीकरणसँगै सम्झौता चौथोपटक विस्तार भएको हो।
चीनको केन्द्रीय बैंकका अनुसार सन् २०२५ को अन्त्यसम्म चीनले विभिन्न देश तथा क्षेत्रका ३२ वटा केन्द्रीय बैंक वा मौद्रिक निकायसँग द्विपक्षीय स्थानीय मुद्रा विनिमय सम्झौता गरेको थियो। सो अवधिमा विदेशी केन्द्रीय बैंक तथा मौद्रिक निकायले तानेको युआनको बाँकी रकम ९४.२ अर्ब युआन रहेको थियो।
चीन र अष्ट्रेलियाबीचको व्यापारिक सम्बन्ध पछिल्ला वर्षमा पनि विस्तार हुँदै गएको छ। चीनको भन्सार प्रशासनका अनुसार सन् २०२६ को पहिलो छ महिनामा दुई देशबीचको वस्तु व्यापार १३१.५ अर्ब अमेरिकी डलर पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.९ प्रतिशत बढी हो।
यस अवधिमा अष्ट्रेलियाबाट चीनतर्फको आयात ४५ प्रतिशतले बढेर ८९.६ अर्ब अमेरिकी डलर पुगेको छ। अष्ट्रेलिया चीनका लागि फलाम अयस्क, कोइला र प्राकृतिक ग्यासलगायत प्रमुख वस्तु आपूर्तिकर्तामध्ये एक हो।
दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप व्यवस्थित गर्न चीन–अष्ट्रेलिया स्वतन्त्र व्यापार सम्झौता (ChAFTA) सन् २०१५ को डिसेम्बरदेखि कार्यान्वयनमा छ। सन् २०२५ को जुलाईमा दुवै देशले उक्त सम्झौतामा रहेको समीक्षा संयन्त्र सक्रिय गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
स्थानीय मुद्रा विनिमय सम्झौताको निरन्तरता र सीमा विस्तारले राजनीतिक तथा कूटनीतिक उतारचढावका बीच पनि चीन–अष्ट्रेलिया आर्थिक तथा वित्तीय सहकार्यलाई संस्थागत रूपमा निरन्तरता दिने संकेत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस