पाकिस्तानका प्रधानमन्त्री शरीफको वैवाहिक जीवन: चार विवाह, पाँच श्रीमतीको चर्चा
शाहबाजको पहिलो विवाह सन् १९७३ मा आफ्नी काकाकी छोरी नुसरत बटसँग भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ आफ्नो राजनीतिक जीवनका साथसाथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहने गरेका छन्। हालै पाकिस्तानी मिडियामा उनको वैवाहिक जीवनबारे विभिन्न दाबीहरू सार्वजनिक भएका छन्, जसअनुसार उनले चार पटक विवाह गरिसकेका छन् भने पाँच श्रीमती रहेको चर्चा पनि चलिरहेको छ।
शाहबाजको पहिलो विवाह सन् १९७३ मा आफ्नी काकाकी छोरी नुसरत बटसँग भएको थियो । त्यतिबेला उनी २२ वर्षका मात्र थिए । यो विवाहबाट दुई छोरा र दुई जुम्ल्याहा छोरी जन्मिए । करिब २० वर्षसम्म टिकेको सम्बन्ध सन् १९९३ मा सम्बन्धविच्छेदमा टुंगिएको थियो। केही वर्षअघि मनी लान्ड्रिङसम्बन्धी मुद्दामा नुसरतको समेत संलग्नता रहेको भन्दै उनलाई अदालतमा हाजिर हुनुपरेको थियो।
त्यसपछि शाहबाजले मोडल आलिया हनीसँग गोप्य रूपमा विवाह गरेका थिए। यो विवाह पनि सन् १९९३ मै भएको मानिन्छ। त्यसबेला उनी पञ्जाब प्रान्तका मुख्यमन्त्री थिए र आफ्नी श्रीमतीको घरसम्म सहज पहुँचका लागि ‘हनी ब्रिज’ निर्माण गराएको आरोपसमेत लागेको थियो। तर सन् १९९९ मा राजनीतिक संकट उत्पन्न भई नवाज शरीफलाई देशबाट निष्कासित गरिएपछि शाहबाज आलिया हनीसहित साउदी अरब गएका थिए। केही समयपछि रहस्यमय रूपमा आलिया हनीको मृत्यु भएको थियो।
तेस्रो विवाह पनि सोही वर्ष १९९३ मै भएको मानिन्छ। शाहबाजले तत्कालीन एफआईए प्रमुख तारिक खोसाकी बहिनी नरगिस खोसासँग विवाह गरेका थिए। तर परिवारको असहमति र दबाबका कारण उनीहरू चाँडै छुट्टिएका थिए।
सन् २००३ मा उनले लेखिका तथा सामाजिक अभियन्ता तेहमीना दुर्रानीसँग विवाह गरे। विवाहभन्दा अघि उनीहरू करिब आठ वर्षसम्म सम्बन्धमा रहेका थिए। यो विवाह गोप्य रूपमा सम्पन्न भएको भए पनि पछि दुबईमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको थियो। तेहमीना हालसम्म शाहबाजकी वर्तमान पत्नी हुन्। उनी स्टेट बैंक अफ पाकिस्तानका पूर्व गभर्नर उल्लाह दुर्रानीकी छोरी हुन्। उनले लेखेको आत्मकथात्मक पुस्तक "My Feudal Lord" निकै चर्चित मानिन्छ।
यद्यपि पाकिस्तानका केही सञ्चारमाध्यमहरूले शाहबाज शरीफसँग पाँच श्रीमती भएको दाबी पनि गरेका छन्, तर आधिकारिक रूपमा चार विवाह भएको जानकारी मात्र पुष्टि भएको छ। उनका व्यक्तिगत जीवनबारे यस्ता समाचारहरूले राजनीतिक वृत्तमा पनि बहस सिर्जना गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस