दोहामा रहेको अमेरिकी एयरबेस लक्षित इरानको मिसाइल आक्रमण
इरानले सोमबार कतारको राजधानी दोहामा अवस्थित अमेरिकी वायुसैनिक अड्डा ‘अल उदैद एयरबेस’मा मिसाइल आक्रमण गरेको छ। इरानको सरकारी टेलिभिजनमार्फत आक्रमणबारे पुष्टि गरिएको छ भने बेलायती समाचार संस्था द गार्डियन ले उक्त जानकारी उद्धृत गरेको छ।
टेलिभिजन प्रसारणका क्रममा सैन्य संगीत बजिरहेकै बेला "अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर" भन्ने क्याप्सन देखिएको थियो। अमेरिकी अधिकारीहरूले आक्रमणको पुष्टि गर्दै अध्ययन भइरहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
कतारले आक्रमणप्रति कडा आपत्ति जनाएको छ। कतारको परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले इरानी रिभोल्युशनरी गार्डले दोहाको अल उदैद वायुसैनिक अड्डामा हमला गरी सार्वभौमिकता उल्लङ्घन गरेको बताएका छन्। उनका अनुसार कतारी वायु सुरक्षा प्रणालीले इरानी मिसाइलहरू तटस्थ पार्न सफल भएको दाबी गरिएको छ।
यसैबीच, इरान–इजरायलबीचको तनाव अझ चुलिंदै गएको छ। इजरायलले १३ जुनदेखि इरानविरुद्ध आक्रमण सुरु गरेको दाबी गरेको छ। यसक्रममा १० इरानी परमाणु वैज्ञानिक, सेनाका तीन कमाण्डर र चार जवान मारिएका छन्। इजरायलले इरानका प्रमुख युरेनियम संवर्धन केन्द्र नन्ताज र फोर्दोमा आक्रमण गरेको जनाएको छ।
इरानको जवाफी कारबाहीमा अमेरिकाको इराकस्थित सैन्य अड्डामा समेत मिसाइल प्रहार गरिएको इरानी समाचार एजेन्सी तसनीम ले जनाएको छ।
युद्धको चपेटामा अमेरिका : गुप्त रणनीतिबाट आक्रमण
अमेरिकाले इरानी आणविक केन्द्रहरूमा अत्याधुनिक "बंकर बस्टर" बममार्फत आइतबार बिहान व्यापक हमला गरेको खुलासा भएको छ। अमेरिकी बी-२ बमवर्षक विमानहरूले भूमिगत फोर्दो, नतान्ज र इस्फाहान स्थित केन्द्रहरूमा १४ टनको GBU-57 बम प्रहार गरेका हुन्। यो बम जमिन मुनि ६० मिटरभन्दा गहिरो स्थानमा विस्फोट हुनसक्ने क्षमताको छ।
रोयटर्सका अनुसार अमेरिकी सेनाले रणनीतिक ढंगले इरानलाई झुक्याउँदै गुप्त रूपमा हमला अघि बढाएको थियो। देखिने गरी केही विमान प्रशान्त महासागरतर्फ उडाइए भने अन्य स्टेल्थ विमानहरू पूर्वतर्फ उडेर मिसन सम्पन्न गरेका थिए।
इरान–इजरायल तनावमा अमेरिका सक्रिय रूपमा प्रवेश गरेसँगै कतार, इराकजस्ता मुलुकहरू युद्धको केन्द्र बन्दै गएका छन्। यसले खाडी मुलुकहरूमा कार्यरत लाखौं विदेशी कामदार, विशेषतः नेपाली श्रमिकहरू समेत जोखिममा पर्ने संकेत देखिएको छ।
कतारले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको छ। क्षेत्रीय द्वन्द्व गहिरिँदै जाँदा पश्चिम एसियाली मुलुकहरूमा काम गर्दै आएका नेपाली मजदुरहरूको सुरक्षाबारे सरकार र सम्बन्धित निकायहरू गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस