Techie IT
२०८२ असार ३०, सोमबार

लाहोरबाट कराँची जाने यात्रु जेद्दाह पुग्दा विमानमै हंगामा


पाकिस्तानमा बेलाबेलामा अनौठा र लापरवाहीपूर्ण घटनाहरू सार्वजनिक भइरहन्छन् । हालै पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (PIA) को एक उडान यस्तै एउटा विवादको कारण चर्चामा आएको छ ।

लाहोरबाट कराँची जान टिकट लिएका शाहजैन नामक यात्रु गल्तीले साउदी अरेबिया–जेद्दाह पुगेका छन् । एआरवाई न्यूजका अनुसार शाहजैनले कराँचीको टिकट लिएर लाहोर विमानस्थलमा आन्तरिक टर्मिनल प्रयोग गरेका थिए । तर एयरलाइन्सका कर्मचारीले उनीलाई गल्तीले अन्तर्राष्ट्रिय उडानमा राखे, जुन सिधै जेद्दाहका लागि थियो ।

उडानका क्रममा २ घण्टासम्म विमान कराँची नपुगेपछि शाहजैनले शंका गरे र क्याबिन क्रूलाई सोधे । जब उनले आफू गलत विमानमा चढेको थाहा पाए, त्यसपछि विमानमै हंगामा मच्चिएको थियो । चालक दलले गल्ती स्वीकार्ने साटो शाहजैनलाई नै दोष दिन थालेको उनले बताएका छन् ।

शाहजैनले भने, "मैले आन्तरिक टर्मिनलमा रहेको विमान चढें, स्टाफलाई टिकट देखाएँ, तर मलाई गलत उडानमा राखियो भन्ने पत्तो नै भएन ।" उनले न त साउदी अरेबियाको भिसा थिएन, न पासपोर्ट । त्यसैले जेद्दाह पुगेपछि पनि उनी समस्यामा परे ।

शाहजैनले कराँची फर्काइदिन आग्रह गर्दा उनलाई २–३ दिन कुर्न भनिएको थियो । उनले पाकिस्तान एयरलाइन्सविरुद्ध कानुनी कारबाही गर्ने तयारी गरिरहेको बताएका छन् ।

घटनापछि पाकिस्तान एयरपोर्ट्स अथोरिटी (PAA) ले लाहोर विमानस्थलका अधिकारीहरूसँग सोधपुछ थालेको छ । पीएएका अनुसार यो प्रकरण एयरलाइन्सको गम्भीर लापरवाहीको उदाहरण हो । लाहोर एयरपोर्ट प्रशासनले घटनाको छानबिन सुरू गरेको छ र दोषी कर्मचारीमाथि कडा कारबाही गरिने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट