सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा मंगलबार भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। बाँकेको कोहलपुर नगरपालिका–११ धिताल पेट्रोल पम्प नजिक भे.१२ प १४८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–१० कालिका नगर बस्ने ५९ वर्षीय टोलप्रसाद कोइरालाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।
झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा बीआर ५५८५०० नम्बरको स्कारपियो र प्र.१–०१–०१६ प ३६६१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सोही गाउँपालिका–१ का ४६ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले स्कारपियो चालकलाई नियन्त्रणमा लिएको छ।
काभ्रेको पाँचखाल नगरपालिका–५ केराघारीमा ना.७ ख ७२१४ नम्बरको ट्रकले बा.९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रूपेश खरेलको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस