छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
म्याग्दीको वेनी नगरपालिका–२ हाडेभिरमा ध.२प ६९६ नम्बरको मोटरसाइकलको ठक्करबाट ५ वर्षीय केविन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा दुईवटा मोटरसाइकल र बस आपसमा ठोक्किँदा ४३ वर्षीया कविता जोशीको ज्यान गएको छ। गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका एक मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा संलग्न मोटरसाइकल तथा बस चालकलाई नियन्त्रणमा लिएको छ।
सप्तरीको बोदेबरसाइन नगरपालिका–७ मुसहरी टोलमा इ–रिक्साको ठक्करबाट भारत बिहारका ५ वर्षीय आरजे सदायको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङको गढवा गाउँपालिका–१ धोर्देमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा २० वर्षीय सुशिल थापाको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस