Techie IT
२०८२ भाद्र ९, सोमबार

देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु


देशका विभिन्न स्थानमा आइतबार र सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ।

नवलपरासी पूर्वमा गैंडाकोट नगरपालिका–२ नारायणी पुलमा ट्रक (ना.१ क ५१९९) ले मोटरसाइकल (ना.४३ प ८७) लाई ठक्कर दिँदा चालक २३ वर्षीय मुनाल दाहाल गम्भीर घाइते भए। उनको उपचारका क्रममा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङमा विराटनगर महानगरपालिका–१४, आईसीपी रोडमा साइकल दुर्घटनामा जहदा गाउँपालिका–३ का ४१ वर्षीय रूपेश कुमार राजवंशीको मृत्यु भयो। उनी कोशी अस्पतालमा उपचारका क्रममा निधन भएका हुन्।

त्यसैगरी, बेलबारी नगरपालिका–१, सिसौली चोकमा सिटी सफारी (प्र.१–०२–००४ ह १०२२) को ठक्करबाट ५० वर्षीया टिकामाया श्रेष्ठ गम्भीर घाइते भइ न्युरो अस्पताल, विराटनगरमा उपचारका क्रममा निधन भइन्। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङमा गढवा गाउँपालिका–३ धैरेनीमा अटो (रा.१ ह ५९२३) लाई नम्बर नखुलेको ट्र्याक्टरले ठक्कर दिँदा अटो चालक ५५ वर्षीय बलबहादुर थापाको मृत्यु भयो। दुर्घटनामा घाइते दुई जनाको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ। फरार ट्र्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ।

बारामा कलैया उपमहानगरपालिका–२३, सिसहनिया चोकमा टाटा सुमो (ना.१ ज १९४१) ले मोटरसाइकल (बा.५९ प ४०५३) लाई ठक्कर दिँदा चालक ३४ वर्षीय उपेन्द्र राउत कुर्मीको मृत्यु भएको छ। सुमो चालक भने फरार छन्।

बाँकेमा नेपालगन्ज उपमहानगरपालिका–२० मा हाइस (बा.३ ख ९५२९) र स्कुटर (लु.९२ प ५४२५) आपसमा ठोक्किँदा हेटौंडा उपमहानगरपालिका–१८ का २९ वर्षीय सरोज मुक्तानको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य दुई जनाको उपचार भैरहेको छ। हाइस चालक फरार छन्।

यी सबै दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट