आज देशभर सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडामा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। ठाँटाबजारबाट डडेल्धुरा जाँदै गरेको से.१ ज ७३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
मृत्यु हुनेहरूमा सोही गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्। जिप चालकसहित पाँच जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिका–१ दमाइटारस्थित सडकमा बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बागमती प्रदेश ०२–०२२ प ०२३४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गोदावरी–२ का ३८ वर्षीय दिपक बिष्ट गम्भीर घाइते भएका थिए। मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस