बझाङमा ट्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइते

बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारतर्फ गइरहेको सु.प.प्र. ०१–००२ त ४८३० नम्बरको ट्याक्टर तल्कोट गाउँपालिका–५, भक्तपुर भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनामा तल्कोट–४ का विकास सिंहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका नायब उपरीक्षक खगेन्द्र धमालाले जानकारी दिएका छन् ।
त्यसैगरी तल्कोट–४ का ३० वर्षीय खगेन्द्र खत्री, भूपेन्द्र सिंह, अभिषेक सिंह र वडा नम्बर ५ का लोकेश मल्ल घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस