धनुषामा मोटरसाइकल दुर्घटना, दुई युवकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–२ माची र लगमा बीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति साढे १० बजे दुर्घटना भएको हो। घटनास्थलमै दुवैजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकलमा सवार तीनै जना कमला नगरपालिका–३ लगमा बजारमा चलिरहेको झिझिया नाच हेर्न जाँदै थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस