Techie IT
२०८२ कार्तिक १, शनिबार

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं, २३ असोज – पछिल्ला दुई दिनमा देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

पर्सा – पर्सागढी नगरपालिका–४ देवागुठीस्थित सडकमा रोकी राखेको टेलरमा म.प्र.०३-०३६प १०३९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक २५ वर्षीय प्रितम पटेल (पालिका–८ हरपुर) बुधबार राति मृत्यु भएका छन्। गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा पनि मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

चितवन – राप्ती नगरपालिका–२ सिमराचोकस्थित सडकमा बा. प्र ०२-०५६ प १११५ नम्बरको स्कुटरको ठक्करबाट रौतहट, माधव नारायण नगरपालिका–८ बस्ने २४ वर्षीय रूपेश राय यादव बुधबार बेलुकी मृत्यु भएका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। स्कुटर चालकको उपचार सोही अस्पतालमा भइरहेको छ।

बारा – जीतपुर सिमरा उपमहानगरपालिका–१६ बाह्रकिलो जंगलस्थित सडकमा बाग्मती प्रदेश०३-००१ च १९५१ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक २२ वर्षीय बुद्धि बहादुर रूम्बा (मकवानपुर, हेटौंडा उपमहानगरपालिका–८) मृत्यु भएका छन्। गम्भीर घाइते भएका उनको सामुदायिक प्रसूति गृह अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो। गाडीका सहचालकको उपचार सोही अस्पतालमा भइरहेको छ।

प्युठान – मल्लरानी गाउँपालिका–१ टोड्केस्थित सडकमा ना.५ ख ६०४ नम्बरको बसले झिमरुक गाउँपालिका–४ का ४० वर्षीय चन्द्र बहादुर पुनलाई बुधबार राति किच्दा मृत्यु भएको छ। गम्भीर घाइते उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुर – ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित सडकमा लु.५६ प १००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ३४ वर्षीय नवराज अधिकारी (लमजुङ, भोटेवडार) मृत्यु भएका छन्। गम्भीर घाइते उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

सिराहा – धनगढीमाई नगरपालिका–९ जिरोमाइल चोकस्थित सडकमा विराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ ख २६५ नम्बरको बसबाट खसेर बसका सहचालक २१ वर्षीय पवन कुमार यादव (लहान नगरपालिका–१) बिहीबार दिउँसो मृत्यु भएका छन्। गम्भीर घाइते उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट