Techie IT
२०८२ असोज २८, मंगलबार

आज देशभर सवारी दुर्घटनामा ११ जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा शुक्रबार र शनिबार गरी ११ जनाको मृत्यु भएको छ।

झापाको शिवसताक्षी नगरपालिका–१ मन्दिरटोलमा शुक्रबार दिउँसो स्कुटर (प्र.१–०१–०१६ प ९३५८) र मोटरसाइकल (प्र.१–०२–०४३ प ९४७५) एकआपसमा ठोक्किँदा स्कुटर चालक बिर्तामोड नगरपालिका–५ की २५ वर्षीया निरूता भट्टराईको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका–२ चाँदनीचोकमा ट्रक (ना.१ अ.यो. १८६) को ठक्करबाट ७६ वर्षीय बमभोज चौधरीको घटनास्थलमै मृत्यु भएको छ। ट्रक चालक फरार छन् भने प्रहरी खोजीमा लागेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ खत्रीटोलमा मोटरसाइकल (ग.२६ प २२११) अनियन्त्रित भई दुर्घटना हुँदा चालक २८ वर्षीय विजय तामाङको उपचारका क्रममा मृत्यु भएको छ। घाइते एक जनालाई थप उपचारका लागि चितवनको सिएमसी अस्पताल रिफर गरिएको छ।

तनहुँकै बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा बस (ग.१ ख ९७०८) र स्कुटर (ग.२६ प ९२८७) ठोक्किँदा २८ वर्षीय स्कुटर चालक पनराम गुरुङको सिएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। घाइते एक जनाको सोही अस्पतालमा उपचार भइरहेको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ गोरूसिंगे तौलिहवा सडक खण्डमा भ्यान (बा.प्र.०१–००३२ च ८७६६), मोटरसाइकल (प्र.१–०१–०१४ प १८६४) र स्कार्पियो (लु.३ च ७५७) आपसमा ठोक्किँदा मोटरसाइकल चालक २८ वर्षीय लोसन पौडेलको मृत्यु भएको छ। भ्यान र स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, कपिलवस्तु–यसोधरा गाउँपालिका–५ सुठौलीमा टेलर (यूपी ५१ एटी ४४५५) मा ठोक्किँदा मोटरसाइकल चालक ३० वर्षीय गणेश कुमार गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ। टेलर चालक फरार छन्।

हुम्लाको चंखेली गाउँपालिका–४ बेशीखोलामा शुक्रबार बिहान जिप (कर्णाली प्रदेश ०२–००१ च १०९१) अनियन्त्रित भई दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २८ वर्षीय मनबिर बुढा, २ वर्षीय देवाङ्स बुढा, २८ वर्षीया बसन्ती रोकाया र ४ वर्षीया जागृती रोकाया रहेका छन्। घाइते अन्य ४ जनाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ।

डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित सडकमा अछामबाट धनगढीतर्फ जाँदै गरेको हाइस (सु.प.प्र.०१–००१ ख ३९५६) शनिबार बिहान दुर्घटना हुँदा २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते २४ जनाको पद्मा अस्पताल अत्तरिया र नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार सबै घटनाको विस्तृत अनुसन्धान जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट